डोटी । ब्लड क्यान्सरले थलिएका डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ८ गोदडाका ६ वर्षे बालक रोशन साउँदको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न पाएका छैनन् ।

उपचार भएमा ब्लड क्यान्सरलाई जितेर रोशनले नयाँ जीवन पाउँछन् । तर रकम अभाव छ । रकम अभावपछि रोशनले जीवन रक्षाका लागि सार्वजनिक रुपमा अपिल गरेका छन् ।

उनले सक्ने र सम्भव हुँनेले आर्थिक सहयोग गरिदिन र सम्भव नभएपनि देख्नासाथ यो अपिल सेयर गरेर आफुलाई बचाउने सहयोगी मनसम्म पुर्याउन सार्वजनिक अपिल गरेका हुन् ।

उनले हामीसँग भनेका छन् म ब्लड क्यान्सरलाई जितेर बाँच्न चाहान्छु, डाक्टरले उपचार गरे निको हुन्छ भन्नुभएको छ तर म सँगै उपचार गर्ने रकम अभाव भएको छ । यसैले सक्नेले मलाई सहयोग गरिदिनुहोला । प्रत्यक्ष सहयोग गर्न असम्भव हुँनेलेपनि यो मेरो अपिल सेयर गरेर अरु सहयोगी मनसम्म पुर्याउनुपनि सहयोग हुनेछ ।

 

लगातार ज्वरो आउन थालेपछि गत बैशाख १३ गते डोटीको शैलेश्वरी अस्पतालमा उनलाई उपचारका लागि पुर्याइयो । त्यहाँको उपचारले सञ्चो नभएपछि रोशनलाई बैशाख २५ गते जिल्ला अस्पताल डोटीमा पुर्याइयो । त्यहाँ पनि सञ्चो नभएपछि काठमाण्डौ ल्याएर बैशाख २७ गते सिभिल सर्भिस हस्पिटल काठमाण्डौ पुर्याइयो ।

छोरा रोशनको रगत जाँच गराउँदा डाक्टरले क्यान्सर भएको र ८ लाख जम्मा गर्न भनेपछि उपचारै नगरी घर फिर्ता भएको उनका बुबा दिल बहादुर साउँद (दिपेन्द्र) ले दुःखेसो पोखे ।

छोरालाई काखमा राखी उनले रुँदै भने–‘मेरो छोरा ब्लड क्यान्सरले मर्नै लाग्यो, काठमाण्डौमा लैजाँदा ब्लड जाँचेपछि डाक्टरले शुरुमै ८ लाख डिपोजिट राख्नुपर्छ भन्यो, मैले मेरो घरबार बेचेर पनि ८ लाख जम्मा गर्न सक्ने अवस्था छैन ।’

घरायसी कमजोर अवस्थाका कारण आफुले भारतको कर्नाटकमा होटलमा मजदुरी गर्दै आएको र छोरा बिरामी भएपछि घर आएको रोशनका बुबाले बताए । रोशनको सिभिल सर्भिस हस्पिटलको हेमाटोलोजी डिपार्टमा डा. प्रेमराज श्रेष्ठले जेकजाँच गरेको रिपोर्ट उनिसँग छ ।

जसमा ब्लड जाँच रिपोर्टमा ‘डिग्री अफ अर्जेन्सी’ परिणाममा ‘अर्जेन्ट’ देखाएको छ । निःशुल्क उपचारका लागि सिफारिस गरिदिन भन्दै शुक्रबार दिउँसो चर्को घाममा छोरालाई साथमै ल्याएर रोशनका बुबा दिपायल सिलगढी नगरपालिकामा पुगेका थिए ।

नीतिगत व्यवस्था अनुसार रोशनको उपचारका लागि नगरपालिकाले सहयोग गर्ने दिपायल सिलगढी नगरपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी विष्णुराज जोशीले बताए ।

गएको असार महिनामा बायाँ हात समेत भाँचिएको र अहिले ब्लडमै क्यान्सर देखिएपछि रोशनका बुबा दिपेन्द्रले मानवीय सहयोगका लागि सबैमा गुहार मागेका छन् । सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरुले रोशनका बुबा दिपेन्द्रको मोबाईल नं. ९८०४६२२४२० मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।

सम्बन्धित खबरहरु