काठमाडौ । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो ।

चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे । त्यस्तै, ओलिभर जेरुड र पेड्रो रोड्रिगेजले समान १–१ गोल गरे । यता, आर्सनलका लागि एलेक्स इओबीले एक गोल गर्न सफल भए ।

फाइनल खेलको पहिलो हाफसम्ममा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा चेल्सीले चार गोल गर्दा आर्सनलले एक गोल मात्रै गर्न सफल भयो ।

जेरुडले ४९ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएसँगै गोलको वर्षा नै शुरु भयो । पेड्रोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाएका थिए । त्यसपछि चेल्सीका हजार्डले खेलको ६५औं मिनेटमा तेस्रो गोल गर्न सफल भए ।

त्यसपछि भने चेल्सीको गोलमा ब्रेक लाग्यो । ६९ औं मिनेटमा इओबीले गोल गरेपछि आर्सनल ३–१ गोलको स्थितिमा आयो । खेलको ७२औं मिनेटमा फेरि पनि हजार्डले चेल्सीका लागि अर्को गोल दिलाए र फराकिलो अन्तरमा उपाधिमा कब्जा जमाए ।

सम्बन्धित खबरहरु