बुडापेस्ट । हंगेरीको राजधानी बुडापेस्टमा भएको डुङ्गा दुर्घटनामा परी सात पर्यटकको मृत्यु हुनुको साथै २१ जना बेपत्ता भएका हंगेरी र दक्षिण कोरियाली अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता भएका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सो डुङ्गामा सवार रहेका ३३ जना दक्षिण कोरियाली नागरिक भएका सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको छ । अझै २१ जना बेपत्ता रहेका हंगेरीका प्रहरी प्रवक्ता क्रिस्टोफ गालले बताएका छन् । हराइरहेका २१ व्यक्तिमा पनि प्रायः दक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले थप जानकारी दिएको छ ।

स्थानीय समयानुसार बुधबार राति करिब ९ बजे भीषण रुपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङगामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो । दुई तले सो डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको तर यस डुङ्गामा ६० व्यक्ति सवार रहेका प्रत्यक्षदर्शीले जनाकारी दिएका छन् ।

हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुब नदीमा बिहीबार उद्धार अभियान चलाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । दक्षिण कोरियाले आफ्नो सरकारी टोली हंगेरी पठाउने योजना बनाएको जनाइएको छ ।

डुङ्गा, गोताखोर, प्रकाश तथा राडार उपकरणको प्रयोग गरेर दुर्घटनास्थलबाट निकै तलसम्म नदीमा हराइरहेका पर्यटकको खोजी भइरहेको छ । हराएका उनीहरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको उद्धारकर्ताले बताएका छन् ।

सम्बन्धित खबरहरु