काठमाडौं । नेपालमा सामान्य उपचारका लागि विदेश जाने प्रचलन रहेको छ । केही दिन पहिले मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचनसम्बन्धी समस्या भएपछि उपचारका लागि पत्नी आरजु राणासँगै सिंगापुर जानु भएको थियो ।

उहाँ जस्ता धेरै व्यक्तिहरु नेपालमा छन् जो उपचारका लागि बाहिर जाने गर्दछन् । नेपालमा पनि धेरै यस्ता अस्पताल छन जहाँ बाहिरको भन्दा सस्तो र राम्रो उपचार हुन्छ । शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ ।

तीन वर्षको अथक प्रयासपछि शुक्रबार प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका हुन् । प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो ।

उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन । डा. भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको प्रत्यारोपण राती १२ बजेर ३० मिनेट जादा सकिएको थियो ।

नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा. निरव गौरको टिम आएको थियो । भारतमा एक करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमा हुने चिकित्सकले बताएका छन् ।

अस्पतालले वर्षमा १२ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । यो नेपाली चिकित्सा क्षेत्रमा एक क्रान्तिकारी कदम भएको धेरैको बुझाई रहेको छ ।

 

सम्बन्धित खबरहरु