काठमाडौ । संसदमा सांसदलाई १० करोड दिनुपर्छ भन्दै आवाज उठ्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दै आएको छ । तर अहिले नेपाली कांग्रेसका नेता तथा छाया सरकारका परराष्ट्रमन्त्री नारायण खड्काले सांसदहरुलाई छुट्याइएको ६ करोड रुपैयाँ स्वागतयोग्य भन्दै अझै बढाएर १० करोड पुर्याउनुपर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गर्नुपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ ।’ अमेरिका, भारतलगायत देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको उदाहरण दिँदै उहाँले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभएको छ ।

आज राजधानीमा भएको एक कार्यक्रममा कांग्रेस नेता खड्काले यस्तो प्रतिक्रिया दिनु भएको हो । लोकप्रियताको लागि सांसदलाई ६ करोड रकम दिने निर्णयको विरोध गर्नुको औचित्य नरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन । संघीयतालाई बलियो बनाउन पनि यो आवश्यक छ ।’

सम्बन्धित खबरहरु