काठमाडौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ मा बन्न लागेको विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति सहितको यलम्बर पार्क बनाउन प्रदेश सरकारसँग सम्झौता भएको छ ।

डिपिआर तयार पारिएको केही समयपछि पार्क निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र १ नम्बर प्रदेशबीच सम्झौता भएको हो । कुल लागतको ७० प्रतिशत प्रदेश सरकारले र ३० प्रतिशत नगरपालिकाले ब्याहोर्नेगरी सम्झौता भएको छ ।

करिब १४ करोडमा यो पार्क निर्माण हुनेछ । यसमा १० करोड प्रदेश सरकारले दिनेछ भने ४ करोड नगरपालिकाको तर्फबाट खर्च हुनेछ । नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा नै यो पार्कका लागि ७५ लाख रकम छुट्याएका थियो । अहिले यहाँ प्राथमिकताका साथ काम भइरहेको उपमेयर विणा देवी राईले जानकारी दिनुभयो ।

यसअघि यो स्थानलाई किरात राई यायोक्खा केन्द्रीय अध्यक्षसहितको टोलीले आज अवलोकन गरेको थियो । नगरको बुइपा स्थित पञ्चरवाटो माथिको डाँडामा बन्न लागेको पार्क १४ करोडको लागत अनुमान गरिएको छ ।

३२ रोपनीको क्षेत्रमा बन्न लागेको पार्क १ नम्बर प्रदेश र नगरको साझेदारीमा बन्न लागेको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो । किराती संस्कृतीमा बन्न लागेको पार्कमा ११ करोडको लागतमा १०० फिट अग्लो यलम्बरको मूर्ति, चुला लगायतको मूर्तिहरु बन्नेछ । यो मूर्ती विश्वकै अग्लो मूर्ती हुने दावी गरिएको छ ।

१४ नम्बर वडा अध्यक्ष दिनेश राईका अनुसार विश्वले नेपालको संस्कृती हेरेर गर्व गर्ने भएकाले त्यो संस्कृतीको जगेर्नाका लागि यो योजनालाई महत्वका साथ राखिएको छ ।

१ नम्बर प्रदेश सरकारसँग सम्झौता भएपछि अब झनै तिब्र गतिमा काम हुने उहाँको विश्वास छ । यसअघि यो पार्क निर्माण स्थल अवलोकनका लागि यायोक्खा अध्यक्ष दिवस राई, सचिव अर्जुन जम्नेली राई, कोषाध्यक्ष देवान राई, नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणा देवी राई, किरात राई विद्यार्थी संघको पूर्व केन्द्रीय सचिव सुरेन्द्र राई लगायत पञ्चरबाटो पुग्नुभएको थियो ।

नगरले छुट्याएको ७२ लाख बजेटले गेट, पाहुना घर लगायतको भवन निर्माण धमाधम भइरहेको छ ।

सम्बन्धित खबरहरु