काठमाडौ । पार्किङ्गका लागि राखेको बस दुर्घटना हुँदा ठुलो नोक्सान भएको छ । बझाङ्गमा पार्किङ्गका लागि राखेको बस दुर्घटना भएपछि ठुलो धनजनको क्षति भएको हो ।

सोमबार साँझ ५ बजे सदरमुकाम चैनपुर नजिकैको बसपार्कमा पार्किङ्ग गर्दै गर्दा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

पार्किङ्गका लागि सह–चालकले चलाउँदा महाकाली यातायातको ना ७ ख ६३७१ नं बस दुर्घटना भएको हो । रित्तो बस पार्किङ्गका लागि बसपार्कको छेउमा पार्किङ्ग गर्न खोज्दा करिब २० मिटर तल बाउलीगाडमा खसेको प्रहरीले जनाएको छ ।

यता आजै काठमाडौमा डरलाग्दो दुर्घटना भएको छ । पैदल यात्रुलाई ठक्कर दिएर भाग्दा ४ जनाको अवस्था गम्भीर भएको छ । काठमाडौंको बबरमहलमा एउटा मोटरसाइकल दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलले सडक विभाग नजिकै रहेको जेब्रा क्रसमा बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो । ठक्कर दिएर भागेको उक्त मोटरसाइकलले फेरि जिल्ला अदालत अगाडिको जेब्रा क्रसमा पुगेर बाटो काट्दै गरेका दुई महिलालाई ठक्कर दिएको जनाइएको छ ।

दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको नर्भिक र सिभिल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक र घाइतेहरुको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उता नेपाल–भारतको सीमाक्षेत्रमा बारुदजन्य विस्फोटक पदार्थससहित एक जना पक्राउ परेका छन् । काँकडभिट्टा–पानीट्याङ्की नाकामा तैनाथ भारतीय एसएसबी ४१ बटालियन टोलीले भारतबाट नेपालतर्फ आइरहेका भोजपुर बस्ने ३३ वर्षीय प्रसाद राईलाई पक्राउ गरेको हो ।

एसएसबीले राईको साथबाट बारुदजन्य विस्फोटक पदार्थ नेगेल ९९०० को ४० प्याकेट, १०० पिस विद्युतीय डेटोनेटर, नेपाली नागरिकको परिचयपत्र, मोबाइल फोन लगायतका सामग्री बरामद गरेको जनाइएको छ ।

मेघालयको सिलंगबाट नेपाल फर्किन लागेका राईमाथि एसएसबीले बोर्डरमा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा विस्फोटक पदार्थ बरामद गरिएको एसएसबीका कमान्डर राजीव राणाले जानकारी दिए । विस्फोटक पदार्थसहित पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि खोडीबारी पुलिस थाना बुझाइसकेको छ ।

 

सम्बन्धित खबरहरु