काठमाडौं । नेपालमा सिमित मात्रामा दुर सञ्चार सेवा प्रदायक कम्पनी भएको भए पनि प्रतिस्पर्धा भने तिव्र रुपमा बढ्दै गएको छ । एउटै कम्पनीमा काम गर्ने बीचको टेलिफोन कुराकानी र सन्देश आदानप्रदानलाई निकै सस्तो बनाउँदै नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने आकर्षक सुविधा ल्याएको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी संस्थागत प्रयोगकर्ता समूह (कर्पोरेट युजर ग्रुप) योजना अनुसार यो सेवा प्रयोग गर्न पाइने बताएको हो ।

कम्पनीका अनुसार यो सुविधा पाउन कम्तीमा १० जना कार्यरत मोवाइल प्रयोगकर्ता भएको संस्था हुनुपर्नेछ । तर, सो भन्दा बढी जति पनि संख्याका मोवाइल प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् । समूहमा आबद्ध नम्बरहरु बाहेक नेपाल टेलिकमका अन्य नम्बरहरुमा पनि प्याकेजमा उपलब्ध गराइएको फ्रि रिसोर्सेज (कुराकानी, इन्टरनेट र सन्देश) प्रयोग गरी निशुल्क सुविधा प्राप्त गर्न सकिनेछ ।

सेवा प्रयोग गर्न इच्छुक संस्थाले संस्था दर्ताको प्रमाणपत्रसहितको निवेदन नजिकको दूरसञ्चार कार्यालयमा दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ । टेलिकमका मोवाइल नम्बरसहितका समूहमा आबद्ध हुने व्यक्तिका नामावली र लिइने संस्थागत प्याकेज निवेदनमा खुलाई पेश गर्नुपर्छ । टेलिकमका मोवाइल नम्बर नभएको खण्डमा निर्धारित महशुल लिएर ग्राहक सेवा केन्द्रले तत्कालै नयाँ मोवाइल नम्बर उपलब्ध गराउनेछ ।

यो सेवामा आबद्धताका लागि प्रत्येक ग्राहकले प्रति महिना आफ्नो मोवाइल नम्बरमा सब्स्क्रिप्सन शुल्क बापत न्यूनतम प्याकेज रकम तिर्नुपर्ने कम्पनीको भनाई छ । प्रिपेड मोवाइलमा मात्र उपलब्ध यो सुविधा अन्तरगत प्रति महिना २ सय रुपैयाँ बराबरको संस्थागत प्याकेज लिएर समूहभित्र महिनाभरि असीमित कुराकानी गर्न सकिनेछ ।

कम्पनीका अनुसार यो सुविधा अन्तरगत समूह बाहेकका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरु, जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड मोवाइलमा महिनाभरमा ६५ मिनेटसम्म कुराकानी गर्न, १ सय २५ एमबिको इन्टरनेट प्रयोग गर्न र २५ वटा सन्देश पठाउन सकिन्छ ।

सम्बन्धित खबरहरु