काठमाडौं । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गर्नु भएको थियो ।

आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गर्नुभयो ।

तर, विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभाकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाइ खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनि पढ्नुहोस्, सरकारले विदेशस्थित कूटनीतिक नियोग पुनर्संरचनाको तयारी गरेको छ । विदेशस्थित नियोगबारे पुनरावलोकन गर्न गठित कार्यदलले नियोग थपघटसहितको प्रस्ताव तयार गरेको हो ।

२१ मंसिर ०७५ मा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले डेनमार्क, क्यानडा, स्पेन र दक्षिण अफ्रिकास्थित दूतावास हटाउन प्रस्ताव गरेको छ । त्यस्तै, टर्की, इटली, केन्या, इन्डोनेसिया र सिंगापुरमा दूतावास थप्न भनेको छ ।

विश्वका १६६ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ३० दूतावास, तीन स्थायी नियोग, ६ महावाणिज्य दूतावास छन् । सबै महादेश, विकास साझेदार मुलुक, शक्तिराष्ट्र, श्रम गन्तव्य मुलुकमा नेपालको दूतावास छ । दक्षिण एसियामा अफगानिस्तान, भुटान र माल्दिभ्समा छैन ।

परराष्ट्रका जम्मा १४८ दरबन्दीमध्ये विदेशमा १३३ कर्मचारी कार्यरत छन् । चार सहसचिव, २८ उपसचिव, ४८ शाखा अधिकृत र ५३ नासु कार्यरत छन् ।

अहिले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय तथा सात प्रदेशमा जम्मा १० अधिकृत गरी जम्मा १५८ दरबन्दी छ । परराष्ट्रबाहिरका जम्मा ४३ कर्मचारी पनि देशबाहिर नियोगहरूमा कार्यरत छन् ।

यीमध्ये सहसचिवस्तरीय १६, उपसचिव ११, शाखा अधिकृत ११, नासु पाँच छन् । सहसचिवमध्ये महावाणिज्यदूत पाँच, मिनिस्टर इकोनोमिक पाँच, सैनिक सहचारी सात, प्रहरी अधिकृत एक र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत एकजना छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु