काठमाडौं । बढ्दो गर्मीसँगै विभिन्न खत्तराहरु बढ्दै जाने गर्दछन् । यो मौसममा सर्पले टोक्ने जोखिम धेरै हुन्छ । सर्पले टोक्नुलाई सर्पदंशका रुपमा लिइन्छ । नेपालको विशेष गरेर तराइ क्षेत्रमा गर्मीको मौसममा सर्पले टोकेका बिरामी संख्या अरु क्षेत्रको भन्दा धेरै पाइन्छन् । सर्प देख्ने बित्तिकै जो कोही पनि तर्सने र धेरैलाई त टोक्यो कि मरिन्छ भन्ने भ्रम पनि रहेको छ ।

कतिपय अवस्थामा यो सत्य पनि हो, किनभने हाम्रा वरपर धेरै नै विषालु सर्पहरु पनि पाइन्छन् । अस्पतालसम्म पुग्नुभन्दा अगाडि बिरामीले तुरुन्त र सही प्राथमिक उपचार पाए सर्पदंशबाट हुने मृत्युलाई रोक्न सकिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार सर्पको टोकाइबाट बच्ने तरिकाहरु निम्न रहेका छन् । सबैभन्दा पहिले बिरामीलाई उत्तेजित हुनबाट रोक्ने वा शान्त बनाउनु पर्छ ।

सबै सर्पले टोक्दैमा विष छोडेको हुँदैन, जसलाई ‘ड्राइ बाइट’ भनिन्छ । नेपालको पूर्वी तराइमा गरिएको एक अनुसन्धानले १० प्रतिशत टोकाइमा मात्र सर्पको विष हुने गरेको देखिएको थियो ।

अर्को बिरामी सकेसम्म नचलिकन बस्नुपर्छ । टोकेको ठाउँमा क्रेप्ट ब्यान्डेज बाँध्नुपर्छ तर धेरै कडा गरेर बाँध्नु हुँदैन । टोकेको ठाउँ नचलोस् भन्नका लागि काठको काप्रो (स्प्लिन्ट) प्रयोग गर्न सकिन्छ ।

टोकेको ठाउँलाई मुटुको लेबलभन्दा मुनि राख्नुपर्छ । साथै, शरीरमा लगाएको कपडा कसिएको भए तथा घडी वा गरगहना लगाएको भए निकाल्नुपर्छ । अनि जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

सर्पले टोकेको समयमा गर्न नहुने कामहरु भनेका, घाउमा चक्कुले काट्ने, चुस्ने वा कुनै रसायन लगाउनु हुँदैन । धामी झाक्रीको विधि प्रयोग गर्नुहुँदैन ।

टोकेको ठाउँमा कुनै कडा रबर (तन्कने वस्तु) ले बाँध्नु हुँदैन, यसबाट टोकेको ठाउँ वरिपरि कालो हुने वा ग्यांग्रिन भई सर्पले टोकेको ठाउँ नै काटेर फ्याँक्नु पर्ने हुनसक्छ ।

अनी मद्यपान (जाँड–रक्सी) खानु हुँदैन । यत्ति कुराहरुसँगै घर वरपर फोहर गर्ने लगायतका कामहरु पनि गर्नु हुँदैन त्यसो गर्दा सर्पले आफ्नो वासस्थान बनाएर प्रयोग गर्न सक्छ ।

सम्बन्धित खबरहरु