काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले गुठी विधयेकबाट मुलुकमा उत्पन्न परिस्थितिबारे गहिरो चासो र चिन्ता व्यक्त गरेका छन्। हाल थाइल्याण्डको राजधानी बैंककमा रहेका पूर्वराजा शाहले शुक्रबार केही नेपालीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा आफ्नो चासो र चिन्ता व्यक्त गरिएको बुझिएको छ।

उक्त भेटघाटमा सहभागी तर नाम सार्वजनिक गर्न नचाहने एक व्यक्तिका अनुसार पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो आधार हुन्न भन्ने कुरालाई मनन गर्दै तिनीहरुलाई कुनै पनि रुपमा खल्बल्याउन नहुने विचार व्यक्त गरेका थिए।

उनका अनुसार यस्तो संवेदनशील विषयमा आवश्यक सुधार र परिमार्जनको दायित्व पनि सम्बन्धित गुठीहरुकै भएको धारणा पनि पूर्वराजाले व्यक्त गरेका थिए।

सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी परम्परा सामन्तवादको अवशेष रहेकोले यसलाई समाप्त गर्न सरकार दृढ रहेको बताएका छन् भने ८० भन्दा बढी गुठीहरुले संयुक्त संघर्ष समिति गठन गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन्।

सम्बन्धित खबरहरु