एजेन्सी । अब विश्वकप क्रिकेट कसले जित्ला ? भन्ने बहस सुरु हुन थालेको छ । अहिले अपराजित यात्रा रच्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बर्मिनघममा बुधबार दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो। न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनले शतकीय इनिङ्स खेले। अविजित रहेका विलियमसनले १३८ बलमा ९ चौका र १ छक्कासहित १०३ रन बनाए। यस्तै कोलिन डी ग्राण्डहोमे ६० रनको अर्धशतकीय इनिङ्स खेले।

मार्टिन गुप्टिलले ३५ तथा जेम्स निशमले २३ रन बनाए। दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले अविजित रहदै ६७ तथा हसिम अमलाको ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। त्यस्तै एडिन मार्क्रमले ३८, डेभिड मिल्लरले ३६ तथा कप्तान फाफ डु प्लेसिस २३ रन बनाए। ओपनर क्विनटन डि कक ५ रनमा आउट भए। न्युजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए।

जितसंगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ। अपराजित न्युजिल्याण्डको चौंथो जित हो। दक्षिण अफ्रिकाको यो चौथो हार हो। ६ खेल खेलेको दक्षिण अफ्रिकाको ३ अंक रहेको छ। प्रतियोगिता अन्तरगत आज अष्ट्रेलिया र ब‌गलादेश भिड्नेछन्। समान पाँच खेल खेलेका दुवै टोलीमा अष्ट्रेलियाले चार खेल जित्दै ८ अंक बनाएको छ भने ब‌ंगलादेशको पाँच अंक रहेको छ।

सम्बन्धित खबरहरु