काठमाडौ । भारतमा पछिल्ला दिनहरुमा धर्मको विशेष महत्व रहेको पाइएको छ ।भारतीय राजनीतिको प्रभाव नेपालमा पनि हल्ला पर्ने गर्दछ । भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन् ।

हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन् । ‘हिन्दु राज्य हुँदा नेपाललाई ठूलो फाइदा छ’, नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सय करोडभन्दा बढी हिन्दू आबादी भएको भारतका बासिन्दा पनि यही चाहन्छन्।’

हिन्दू राज्य बनाउन सके विश्वमा नेपालले आफ्नो अस्तित्व अलग्गै बनाउन सक्ने उनको भनाइ छ। ‘नेपाललाई हिन्दू राज्य बनाउँदा यसको आफ्नै छुट्टै पहिचान बन्न सक्छ,’ उनले भने, ‘बेलायतले हामीलाई सेक्युलर (धर्म निरपेक्ष) बनायो।

बेलायतका प्रधानमन्त्री वा कुनै पनि पदाधिकारीले बाइबल छोएर शपथ लिन्छन्। तर त्यही सेक्युलारिज्ममा हामीलाई गीता छोएर शपथ खान दिइन्नँ।’ नेपालको सिमाना जोडिएको राज्यका मुख्यमन्त्री आदित्यनाथले हिन्दू राज्यको वकालत गर्दै आएका छन्।

नेपालमा पनि पछिल्लो समय केही शक्तिहरु हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएका छन् । भारतका बहुसंख्यक हिन्दू धर्मावलम्बी पशुपतिनाथ मन्दिर र मुक्तिनाथमाथि ठूलो आस्था राख्ने भन्दै नेपालले धार्मिक पर्यटनबाट ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ।

सम्बन्धित खबरहरु