अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले देशको स्वाधीनता र राष्ट्रियताको रक्षा कम्युनिष्टले गर्ने बताएका छन् । कम्युनिष्ट पार्टीको स्थापना नै राष्ट्रियता, स्वाधीनता तथा समृद्धिका लागि भएको भन्दै उनले हरेक नेपालीले आफ्नो देशलाई सर्बोपरी राखी अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी अछामले जिल्लाको जयगढमा गरेको जनसभामा बोल्दै नेता रावलले अहिले कम्युनिष्ट पार्टीको काँधमा ठुलो जिम्मेवारी रहेको बताए । ‘अहिले जनताले हामीलाई विश्वास गरेर झण्डै दुई तिहाई मत दिएको छन्, हामीले नयाँ नेपालको जग बसाउनु छ, जनतालाई सुखी र देशलाई समृद्ध बनाउनु छ’, नेता रावलले भने, ‘जनताले सुम्पेको यो ऐतिहासिक जिम्मेवारी हामीले कुशलतापूर्वक बहन गर्नुपर्छ ।’

कम्युनिष्ट कार्यकर्ता इमान्दार, कर्तव्यनिष्ट, अनुशाशित र विकासप्रेमी हुनुपर्ने नेता रावलको भनाई छ । ‘देशमा विकासको जग कम्युनिष्टले बसालेको हो, यो कसैले दाबी गर्दैमा झुटा हँदैन, कम्युनिष्टले देखाएको विकासको बाटोलाई अहिले पूरा गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ र हामीले त्यो पूरा गर्नेछौँ’, पूर्व उपप्रधानामन्त्री समेत रहेका नेता रावलले भने ।

नेकपा अछामले जिल्लाका साँफेबगर र मंगलसैनमा कार्यकर्ता भेला तथा अन्य ८ वटा स्थानीय तहमा जनसभा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका तुर्माखाँद, ढकारी, कमलबजार, बिनायक, रामारोशन, मेल्लेख, चौरपाटी र जयगढमा भएका जनसभामा नेकपा स्थायी कमिटी सदस्य रावल, केन्द्रीय सदस्य शरदसिंह भण्डारी, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी लगायतको सहभागिता रहेको नेकपा अछामका अध्यक्ष शेर बहादुर कुँवरले बताए ।

सम्बन्धित खबरहरु