काठमाडौ । अछामका दुई ओटा वडा कार्यालयमा गएराति आगजनी गरिएको छ। पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए।

पन्चदेवल विनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको ५–६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ। भुइँतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल विनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेको थियो । आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत कार्यालयका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।

यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दूरीमा रहेको वडा कार्यालयमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ । तर अहिले सम्म आगजनीको जिम्मा कसैले लिएको छैन।

सम्बन्धित खबरहरु