काठमाडौं । लामो समय देखि बन्द, हडताल गर्दै आएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज पनि नेपाल बन्दको आह्वान गरेको थियो । आज देशका केही स्थानहरुमा आतंकित घटनाहरु भएको भए पनि अलिक कमजोर भने पक्कै पनि देखिएको थियो ।

आजको बन्दमा नेपाल प्रहरीले विप्लव समूहलाई निस्तेज पार्नेगरी अप्रेशन चलाएको र त्यो सफल भएको दावी गरिएको छ । उसका परिचालित सक्रियहरु जति पक्राउ परेकाले अब खासै दर्बिलो गतिविधि नहुँने बताइन्छ । आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरी मुठभेडमा ज्यान गएको भन्दै आज नेपाल बन्द घोषणा भएको थियो ।

आज बन्दको क्रममा देशभरबाट नेकपाका ७ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार कास्की, मकवानपुर, पश्चिम रुकुम र काठमाडौंबाट उनीहरुलाई पक्राउ गरिएको हो । काठमाडौंको सुकेधाराबाट सोमबार बिहान ३७ वर्षका भागिरथ राईलाई पक्राउ गरिएको छ ।

यस्तै देशका विभिन्न २० स्थानमा शंकासपद बस्तु भेटिएका छन् । काठमाडौं लगायत देशभर अन्य समय भन्दा कम गाडी चलेका छन् । लामो दूरीका गाडीहरु चलेका छैनन् भने छोटो दूरीका गाडीहरु आंशिकरूपमा सञ्चालनमा आएको बताइएको छ । काठमाडौं उपत्यकामा शैक्षिक संस्थाहरु ठप्प देखिए पनि यातायातका साधन निर्वाधरुपमा गुडिरहेका छन् ।

बन्दको प्रभाव उपत्यकामा नदेखिएको होईन तर पहिलेजस्तो देखिएको छैन । यता मोरङको दुई स्थानमा राखिएको बम डिस्पोज गरिएको छ । मोरङ बुढी गंगा–४ स्थित कोसी राजमार्गमा राखिएको बम र पूर्व पश्चिम राजमार्ग स्थित उर्लावारी ४ मा राखिएको बम नेपाली सेनाको टोलिले डिस्पोज गरेको हो ।

बिराटनगरमा बन्दका क्रममा मोरङमा छिटफुट रुपमा मात्रै सवारीसाधनहरू सञ्चालन भए । मोरङका शैक्षिक संस्थाहरू भने पूर्ण रुपमा बन्द भए । उदयपुरको सदरमुकाम गाईघाटमा सुतली बम भेटिएको छ । सदरमुकाम त्रियुगा नगरपालिका १२ आदर्श टोल स्थित वडा कार्यालय नजिकै फेला परेको बम सुरक्षाकर्मीले निस्कृय पारेका छन् ।

नगरपालिकाको प्रस्तावित ‘नगर नमूना मार्ग’ डिएमगेट–लक्ष्मीपुर–पोर्ताहा खण्डको डिएम गेटदेखि सुम्निमा चोकबीचमा पर्ने वडा कार्यालय र नेस्पेक उदयपुर कार्यालय नजिकै विहान ५ बजे स्थानीयले शंकास्पद बस्तु देखेर प्रहरीलाई खवर गरेकाथिए । प्रहरी टोली पुगेर हेर्दा सुतली बम देखेपछि नेपाली सेनाको डिस्पोजल टोली बोलाएर बजे निस्कृय पारेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

यस्तै जिल्लाको पश्चिम कटारी बजारमा शंकास्पद बस्तु फेला परेको छ। कटारी नगरपालिका ३ भगवति मन्दिर नजिकै कपडा पसल छेउमा कालो झोला भेटिएको र त्यस भित्र शंकास्पदबस्तु रहेको भन्दै सेना बोलाइएको छ । बन्दको कार्यक्रम सफल बनाउन विप्लबका कार्यकर्ताहरुले रामेछापको मन्थली बजार क्षेत्र नजिकै मंगलबार विहान ग्यासको सिलिन्डरमा आगो लगाइ बम झै गरी विस्फोट गराएका छन् ।

बमको झै आवाज निस्किएर विस्फोट भएपछि मन्थली आसपासका क्षेत्रमा त्रास फैलिएको छ। विस्फोट पश्चात विस्फोट स्थलको निरीक्षण गर्दा टायरमा आगो बालेर ग्यासको सिलिण्डर राखेर विस्फोट गराई त्रास फैलाउनका निम्ति उक्त कार्य गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए ।

उता बर्दियाका दुई ठाउँमा प्रेसर कूकर बम फेला परेको छ । पूर्वपश्चिम राजमार्गको कतरनिया र गुलरिया स्थित डिभिजन बन कार्यालय नजिकको सडकमा बम फेला परेको हो ।

बम भेटिएको ठाउँलाई प्रहरीले घेरेर बसेको छ । बम भेटिएपछि फाट्टफुट्टमा चलेका सवारी साधन ठप्प भएका छन् । लामो वा छोटा दुरीका सवारी साधन चल्न नसक्दा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ ।

सम्बन्धित खबरहरु