काठमाडौ । गायक प्रकाश सपुतले बजारमा ल्याएको ‘गलबन्दी’ गीतको संगीत सिर्जनामा शम्भु राईको नाम पनि रहने भएको छ । प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा आज भएको चारबुँदे सहमतिमा संगीत सिर्जनामा शम्भु राई र पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम रहने गरी सहमति भएको उल्लेख गरिएको छ । सपुतको गीत ‘गलबन्दी’को लय आफ्नो गीत ‘देउसी भैलो’ को ‘आऊ नाँचौं साथी हो’ सँग मिलेको भन्दै राईले प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा उजुरी दिएका थिए । सहमतिअनुसार गीतको सम्पूर्ण आर्थिक लाभ, प्रतिलिपि अधिकार तथा श्रष्टा, उत्पादक र प्रस्तोताले पाउने रोयल्टीमा भने प्रकाश सपुतको अधिकार रहने छ । यसमा राईले दाबी गर्ने छैनन् ।

राईले प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय र गीत–संगीतका अन्य संघसंस्था तथा निकायमा दिएको उजुरी फिर्ता लिने सहमति पनि भएको छ । ‘गलबन्दी’ गीतको विषयान्तर भएर जातीय रुपमा टिप्पणी हुन थालेको भन्दै प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद् मीन विश्वकर्माले पनि आपत्ति प्रकट गरेका थिए ।

सम्बन्धित खबरहरु