पर्वत । विवाह बार्षिकोत्सवको भोज खाँदा कुश्मा नगरपालिका वडा न ७ मा २४ जना बिरामी परेका छन । स्थानीय हेम शर्माको घरमा बिहे भोज खाएका २४ जना गाउँले एकै चोटी बिरामी परेका हुन् । छोराको बिहे भएको एक बर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रममा गाउँलेले काँक्राको अचार र आलु तथा करेलाको तरकारी खाएका थिए । स्थानीय मिठु गिरीका अनुसार काँक्राको अचार खाएका सबै बिरामी परेका छन् । अचार खाएर बिरामी परेका २४ जनाको स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचार भएको वडाअध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए ।

गत मंगलबार विवाहको बार्षिकोत्सव मनाउन घरमा जम्मा भएका आफन्तहरुले खाएको अचारमा संक्रमण रहेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । ‘काक्रा खाएका मात्र विरामी परेका छन्,’ वडाअध्यक्ष पौडेलेले भने–‘बजारबाट खरिद गरिएको काँक्रामा विषादी हालिएको अनुमान गरिएको छ ।’

भोज खाएका उनीहरु सोहि दिन बेलुकादेखि नै बिरामी भएका थिए । झाडा पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने र केहि बेहोससम्म भएपछि उनीहरुको अहिले उपचार भईरहेको छ । भोजमा प्रयोग भएको काक्रा म्याग्दीको बेनीबाट खरिद गरेर ल्याइएको बताइन्छ । उक्त काँक्रा बेनी बजारमा पनि देशका अन्य जिल्लाबाट भित्रिएको हुँदा काँक्रामा विषादी प्रयोग गरिएको आशंका गरिएको हो ।

बिरामीहरुको अहिले पनि उपचार भइरहेको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी भन्छन, ‘पछिल्लो समय तरकारी अत्याधिक विषादी प्रयोग गर्नेको संख्या बढिरहेको छ ।’ उनले कस्तो विषादी प्रयोग गरिएको भन्ने विषयमा ल्याव टेस्ट विना भने भन्न नसकिने बताए । ब्यवसायीक कृषकहरुले विषादी प्रयोग गर्ने र त्यो तरकारी विना प्रशोधन उपभोग गर्दा यस्ता समस्या आउन सक्ने रेग्मीले बताए । तरकारीको असरका कारण विरामी भए नभएको अध्ययन गर्ने ल्याव टेस्टको ब्यवस्था पोखरा र काठमाण्र्डौंमै जानुपर्ने उनको भनाई छ ।

अखाद्य विषादीहरुको प्रयोग बढिरहेका कारण मानिसहरुमा विभिन्न खालका नयाँ संक्रमणहरु देखिन थालेको रेग्मी बताउँछन् । पर्वत जिल्ला अस्पतालका डा। विष्णु भण्डारीले फुड पोइजनका कारण विरामी भएको स्विकार गर्छन । विरामीहरु मध्ये केहिको रिर्पोट थप अनुसन्धानका लागि केन्द्रिय रोग निवारण केन्द्रमा पठाएको डा। भण्डारीले जानकारी दिए ।

सम्बन्धित खबरहरु