काठमाडौ । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा) लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् । हिजो सहिद भए ५० लाख दिन्छौँ भनेर आन्दोलनमा उतारियो, आज एउटा भैँसी लिन पनि सहिद भएको प्रमाणसहित निवेदन दिन भनियो, के सरकारसँग सहिदको अभिलेखसमेत छैन ? प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । सिराहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् । पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिदको परिवारका नाममा आएको भैँसी पाएका छन् । उनीहरूलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए । मधेस आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए । यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ । तर, तीन सहिद परिवारले भैँसी पाएका छैनन् । सहिद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन् । सहिद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने पाएनन् । पहुँचका आधारमा सहिद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सम्बन्धित खबरहरु