काठमाडौ । कारबाहीमा पर्ने डरका कारण सबै बैंक तथा वित्तीय संस्थाले एटिएम मेसिनमा नेपाली भाषा राखेका छन्। नेपाल राष्ट्र बैंकले जेठ ६ मा ३० दिनभित्र एटिएम मेसिनमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। राष्ट्र बैंकको निर्देशन पालना नगरे कारबाहीमा पर्ने डरले पनि एटिएम मेसिन भएका सवै बैंक तथा वित्तीय संस्थाले नेपाली भाषा राखेका हुन्।

तोकिएको अवधिभित्र नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था नमिलाइएको पाइए भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ अनुसार कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको थियो। कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले केन्द्रीय बैंकको निर्देशन पालना नगरे कारबाहीमा परिन्छ भन्ने डरले पनि सबै बैंकले एटिएममा नेपाली भाषा राखिसकेको बताए।

राष्ट्र बैंकले दिएको निर्देशन पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा ९२० बमोजिम १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यति ठूलो जरिवाना तिर्नुभन्दा नेपाली भाषा राख्नु उत्तम हुने भएकाले एटिएम मेसिनमा हतार–हतार नेपाली भाषा राखिएको एक बैंकरले बताए।

कृषि विकास बैंकले सबै एटिएम मेसिनमा नेपाली भाषा राखेको प्रवक्ता पौडेलले बताए। ‘राष्ट्र बैंकले दिएको निर्देशन सबै बैंकले पालना गर्न बाध्य भए,’ उनले नेपालन्युजसँग भने, ‘जनगुनासो धेरै आएपछि राष्ट्र बैंकले एटिएम मेसिनमा अनिवार्य नेपाली भाषा राख्न निर्देशन दिएको हुनुपर्छ।’ अङ्गे्रजी भाषा नजान्नेका लागि एटिएम प्रयोग कसरी गर्ने भन्ने समस्या आएपछि यस्तो निर्देशन दिन बाध्य भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।

सहज रूपमा आवश्यक रकम निकाल्न प्रयोगमा ल्याइएका एटिएम मेसिनमा नेपाली भाषा प्रयोग नगरिँदा ग्राहकले असुविधा भोग्दै आएका थिए। यसअघि बैंकहरूले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा अङ्ग्रेजी भाषामात्र राखिएको थियो। केहीले भने नेपाली भाषा पनि राखेका थिए। ४० दिनअघि बैंक तथा वित्तीय संस्थालाई नेपाली भाषा प्रयोग गरी एटिएम चलाउन सकिने व्यवस्था गरी त्यसको जानकारी गराउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो।

विज्ञान प्रविधि विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटिएम मेसिन सञ्चालनमा ल्याएका हुन्। बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थाले समेत एटिएम मेसिन सञ्चालनमा ल्याएका छन्। भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ४५ उपदफा (१) तथा भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ (दोस्रो संशोधन, २०७४ समेत) को विनियम ५९ उप विनियम (१) अनुसार एटिएम मेसिनमा अनिवार्य नेपाली भाषा प्रयोग हुनुपर्ने व्यवस्था छ।

सम्बन्धित खबरहरु