काठमाडौं । देशको राजधानी काठमाडौंमा चर्चामा रहेको सिरिन्ज आक्रमण राजधानी बाहिरका जिल्लाहरुमा पनि फैलिएको छ । संघीय राजधानी काठमाडौपछि अब प्रदेश २ को राजधानी जनकपुरधाम स्थित धनुषा जिल्लामा सिरिञ्च आक्रमणको घटना फैलिन थालेका छन् । बिहीवार धनुषाको सबैला नगरपालिका ५ स्थित बलुवा नदी नजिक धनुषाधाम नगरपालिका निवासी शिक्षक मदनकुमार अधिकारीमाथि सिरिन्ज आक्रमण गरिएको हो । जिल्लाको ठिल्लास्थित विद्यालयमा कार्यरत शिक्षक अधिकारी ड्युटी गइरहेको समयमा भारतीय मोटरसाइकल चढेर आएका अपरिचित ब्यक्ति सुई घोपेर भागेको बताइएको छ । घटना पश्चात सुईको प्रभावले उनी घाइते समेत भएका छन् । शिक्षक अधिकारीले घटना बारे संचारकर्मी सँग भने, ‘भारतीय नम्बरको मोटरसाइकलमा चढेर आएका व्यक्तिले मलाई रोक्न ईशारा गर्यो, म मोटरसाइकल रोक्न बितिकै दायाँ हातमा सुई घोपेका थिए ।’ सुइको प्रभावले घाइते भएपछि केही समयपछि आफु होसमा आउँदा उनिहरु भागिसकेको उनले जानकारी दिए । उपचारका लागि जनकपुर अञ्चल अस्पताल आएका थिए तर चिकित्सकहरुले समेत के घोपिएको हो ठम्याउन सकेका छैनन् । डाक्टरहरुले समस्या भए पुनः अस्पताल आउन भनेर फर्काएका छन् । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले सुई घोपिएको घटना सत्य भएको स्विकार गरेका छन् । पिडित शिक्षकले सुई घोप्नेको हुलिया र मोटरसाइकल नम्बर खुलाउन नसकेको कारण अनुसन्धानमा समस्या भएको भन्दै खोजिकार्य भइरहेको जानकारी दिए । अहिले उक्त क्षेत्रमा मानिसहरु पैदल हिड्न डराइरहेका छन् ।

सम्बन्धित खबरहरु