गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ । तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो । जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो। नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ । चिनियाँ उच्च अधिकारीसँग गरिने हरेकपटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहोर्याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं ।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलाई लामाको जन्मदिन मनाउन अनुमति नदिएको बताए । यस्तै, पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । सर्वोच्चमा दाइजोसम्बन्धि उक्त विवाद यसअघि दुई पटक सुनुवाई भएर टुंगिएको थियो । छाउनीको झण्डै १५ रोपनी घरजग्गा दाइजो पाएको दाबी गर्दै प्रेरणाले सर्वोच्चकै पूर्वफैसलाविरुद्ध अर्को रिट दिएकी थिइन् । राजतन्त्र अन्त्यपछि सरकारले उक्त जग्गा नेपाल ट्रस्टका नाममा राख्ने निर्णय गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

सम्बन्धित खबरहरु