डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढीमा ड्युटीमा रहेका चिकित्सकमाथि आ*क्रमण भएको छ । आ*क्रमणपछि डडेल्धुरा अस्पतालका ९ जना चिकित्सकले शुक्रबार विहानै डडेल्धुरा अस्पताल छाडेका छन् ।

बुधबार दिउँसो १२ बजेतिर अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले श*व परीक्षण गरिरहेका बेला डा. दिनेश उपाध्यायमाथि हातपात गरेको थियो । आ*क्रमणपछि चिकित्सकले विज्ञप्ती जारी गर्दै २४ घण्टामाथि दोषीमाथि कारवाही नभए र सुरक्षाका ग्यारेण्टी नभए कार्यक्षेत्र छाड्ने चेतावनी दिएका थिए । जसका कारण बुधबारदेिख नै अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरेका थिए ।

तर, शुक्रबार विहानसम्म पनि दोषीमाथि कारवाहीका लागि तत्परता नदेखाएपछि चिकित्सकहरुले अस्पताल छाडेका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलकाअनुसार चिकित्सक सुरक्षा र दोषीमाथि कारवाहीका लागि जिल्ला प्रशासन, प्रहरी र स्थानीय सरकार तथा सरोकारवालाहरुले कुनै तत्परता नदेखाएपछि सबै चिकित्सकहरुले डडेल्धुरा छाडिसकेका छन् ।

‘आज विहानै ९ जना चिकित्सकले अस्पताल छाडेर निस्किसक्नुभएको छ,’ उनले हेल्थआवाज डटकमसँग भने, ‘थप तीन जना डा. साबहरु यसअघि नै विदामा हुनुहुन्थ्यो । अहिले अस्पतालमा म र डा. ललित सुरीमात्रै छौ ।’ शुक्रबार विहानै अस्पताल छाडेर हिड्ने चिकित्सकहरुमा डा. सिर्जना अधिकारी, डा. सिर्जना महर्जन, डा. डबल बुढा, डा. नरेश श्रेष्ठ, डा. नवराज जोशी जैशी, डा. जीवन खरेल, डा. अमृत अधिकारी, डा. विकास दुवाडी र डा. दिनेश उपाध्याय रहेका छन् । ‘डा. दिनेश उपाध्यायमाथि नै श*व पोष्टमार्टम गर्ने क्रममा हातपात भएको हो,’ मेसु कँडेलले थपे, ‘उहाँ त निकै विक्षिप्त अवस्थामा हुनुहुन्छ ।’

उनले उपचारका क्रममा विरामीको मृत्यु हुँदा पनि चिकित्सकमाथि हातपात हुने र पोष्टमार्टम गर्दा पनि चिकित्सकमाथि आ*क्रमण हुँदा आफूहरु अस्पतालमा बस्न नसक्ने अवस्था सिर्जना भएको बताए । अस्पतालका तीन जना चिकित्सकहरू यसअघि नै बिदामा छन् । डा. सुवास लामिछाने, डा. दिभव बस्याल तालिम बिदामा छन् भने डा. पदम नेपाली धरानको एमडीको इन्ट्रान्सका लागि बिदामा छन् ।

चिकित्सकहरुमाथि फेरि आ*क्रमण भएपछि बिहीबार सरकारी चिकित्सक संघ (गोदान) ले काठामाडौं आउन चिकित्सकहरुलाई आव्हान गरेको थियो । यसअघि उपचारको क्रममा जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तोडफोड भएको थियो ।

उक्त तोडफोडपछि आफू असुरक्षित भएको भन्दैं डडेल्धुराका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु सामूहिक विदामा बस्ने निर्णय गरेका थिए । पछि, प्रशासन र चिकित्सक, स्वाथ्यकर्मी र कर्मचारीहरुबीच सहमति भएपछि उनीहरु काममा फर्किएका थिए । चिकित्सकहरुलाई काम गर्ने सहज वातावरण बनाउनका लागि असार १२ गते नागरिक समाज डडेल्धुराले सर्वपक्षीय बैठक बोलाएको थियो । त्यसपछि सबैले अस्पतालमा तोडफोड, हातपातजस्ता कार्य नगर्ने र दोषीलाई कारवाही गर्ने सर्वपक्षीय सहमति भएको थियो ।

सम्बन्धित खबरहरु