काठमाडौ । काठमाडौंको मुलपानीमा अर्काको घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।

चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु सबै एकै परिवारका भएको र मजदुरी गर्दै गुजारा गर्दै आएका थिए ।

यता लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण हालसम्म छ जनाको मृत्यु भएको छ । देशका विभिन्न जिल्लामा सातजना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पहिरोले घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–३ मा रहेको रामप्रसाद दंगालको घर भत्किँदा उनकी पत्नी गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको हो ।

उता, भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ बासिखोरा बस्ने जगत बहादुर राईको फुसको छानो भएको एक तले कच्ची घर अगाडिको गारो भत्किँदा पिँढीमा सुतिरहेका जगत बहादुर राईको पुरिएर मृत्यु भएको छ । रामेछाप, खोटाङ र सिन्धुलीमा समेत एक–एक जनाको ज्यान गएको छ । यस्तै बाढी र पहिरोमा परी ७ जना बेपत्ता भएका छन् ।

खोटाङको खोटेहाङ गाउँपालिका–३ साँवाकटहरेको बाघपच्याङमा विष्णु राईको घर पुरिँदा उनकी पत्नी रेखा र चार वर्षीय तथा डेढ वर्षीय छोरा समेत तीनजना बेपत्ता भएका छन् । महोत्तरीको बलवा नगरपालिका–२ बदियामा घाँस काट्न जाने क्रममा खोला तर्दा ७० वर्षीय हमिद मिया बेपत्ता भएका छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ बस्ने ९ वर्षीय दिवन राई विद्यालय जाने क्रममा नुवाखोला गर्न खोज्दा बेपत्ता भएका छन् । अन्य दुईजना बेपत्ता भएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

सम्बन्धित खबरहरु