काठमाडौ । अविरल वर्षाका कारण काठमाडौँलगायत मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा सुरक्षा निकाय अहोरात्र खटिएका छन् । उद्धारमा तीनै तहका सुरक्षा निकाय ४० हजार बढी सक्रिय भएका छन् । अहिले रातिपनि जनताको जीउ धनको सुरक्षाका लागि प्रभावित क्षेत्रमा खटिरहेको सेना, प्रहरीका मुख्यालयले जनाएको छ ।

दिनको भोक र रातको निद्रा नभनी बाढीको उर्लंदो भेलमा ज्यानको बाजी थापेर प्रभावित मानिसको ज्यान बचाउन सुरक्षाकर्मी क्रियाशील छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालीमप्राप्त सुरक्षाकर्मीदेखि विभिन्न गण, गुल्म र कार्यालयका अन्य सुरक्षाकर्मीसमेत उद्धारमा परिचालित छन् । दाङको गडवा गाउँपालिका –५, बोधिपुरका ५० घरपरिवार राप्ती नदीको डुवानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाँदै सुरक्षाकर्मी ।

उनीहरुले बाढीमा बग्दै गरेका मानिसदेखि घरभित्र, सडक, रुख तथा डुबानमा फसेका सर्वसाधारणका उद्धारलाई सुरक्षाकर्मीले तीव्रता दिएका छन् । कतिपय अवस्थामा बोकेर, डोरीको सहायतामा त कतिपय अवस्थामा डुङ्गाको सहारामा उद्धार गरिएको छ । नेपाली सेनाले हेलिकप्टरको प्रयोग गरेर पनि उद्धार कार्य जारी रहेको गृहमन्त्री रामबहादुर थापाले बताउनुभयो ।

अवरुद्ध भएका राजमार्ग खुलाउनेदेखि जनजीवन सामान्य बनाउन सुरक्षाकर्मी उद्धारसामग्रीसहित तल्लीन छन् । उनीहरुलाई स्थानीय समुदाय तथा सरकारी एवं गैरसरकारी सङ्घसंस्थालेसमेत सहयोग पु¥याइरहेका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबल समन्वयात्मक ढङ्गबाट उद्धार कार्यमा लागेको जनाइएको छ । प्रहरी कार्यालयमा आएको फोनका आधारमा समेत सुरक्षाकर्मी सम्बन्धित क्षेत्रमा खटाइएका छन् ।

यसरी खटिएको छ नेपाली सेना

बाढीबाट प्रभावित भएकाको उद्धारमा नेपाली सेनाका विभिन्न स्थानमा तैनाथ युनिटबाट २१ जिल्लाको ३२ स्थानमा आठ हजार जनशक्तिले उद्धार कार्यलाई जारी राखेको छ ।

अविरल वर्षाका कारण वीरगञ्जको रामगढवामा बाढी आएपछि शनिबार स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ लैजान मद्दत गर्दै सुरक्षाकर्मी ।  बाढी र पहिरोबाट अति प्रभावित जिल्ला झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाडाँै, ललितपुर र काभ्रेपलाञ्चोकमा सेनाले मात्रै ३५८ जनाको उद्धार गरेको तथा मृत्यु भएका सात जनाको शव निकालेको तथा बेपत्ता भएका व्यक्तिको खोजी जारी राखेको नेपाली सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । यस्तै प्रहरीसँगको समन्वयमा समेत उद्धार कार्य भइरहेको उहाँले बताउनुभयो । सिराहाको कमला नदीमा निर्माणाधीन पुलमा फसेका नौ जना इञ्जिनीयरकोसमेत नेपाली सेनाको टोलीले आज उद्धार गरेको छ ।

अविरल वर्षाका कारण डुबानमा परेका वीरगञ्जको रामगढवाका स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजान मद्दत गर्दै सुरक्षाकर्मी ।  पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग, काठमाडौँ–हेटौँडा र भोजपुर जिल्लाको भोजपुर–खोटाङ–लेगुवालगायत अवरुद्ध सडकमा यातायात आवगमनलाई सहज बनाउने कार्यमा नेपाली सेना सक्रिय छ । विपद्को समयमा प्रयोग हुने स्रोत, साधन तथा जनशक्तिसहित इटहरी, धनुषा र काठमाडौँमा हेलिकप्टर तयारी अवस्थामा रहेको र प्रत्येक जिल्लामा तैनाथ युनिटमा आपत्कालीन उद्धार सामग्रीसहित थत सैनिक टोली तयारी अवस्थामा रहेको पाण्डेले जानकारी दिनुभयो ।

विपद्को उच्च जोखिम भएका स्थानमा डुङ्गालगायत अन्य उद्धारका सामग्रीसहित टोली तयारी अवस्थामा छ । चितवनस्थित २ नं विपद् व्यवस्थापन गणबाट रवरबोटलगायत आवश्यक उद्धार सामग्रीसहितको टोली रौतहटको चन्द्रनिगाहपुरमा उद्धारका लागि खटाइएको नेपाली सेनाले जनाएको छ । गृह मन्त्रालयबाट प्रभावित इलाकामा पठाउन तयार गरिएका राहत सामग्री नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएको समेत नेपाली सेनाले जनाएको छ ।

उद्धारमा २७ हजार प्रहरी सक्रिय

नेपाल प्रहरीले बाढी पहिरामा परी प्रभावित भएका र विचल्लीमा परेकाको उद्धार तथा क्षति न्यूनीकरणका लागि २७ हजार बढी प्रहरी कर्मचारी परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश नं १, २ र ३ मा १५ हजार तथा कर्णाली प्रदेश र उपत्यकामा १२ हजारभन्दा बढी प्रहरी कर्मचारी उद्धारमा खटाईएको छ । प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म विपदमा परेका ३४ जनाको मृत्यु भएको ८०० भन्दाबढीको उद्धार गरिएको र बेपत्ताको खोजी जारी रहेको जानकारी दिनुभयो ।

हरेक प्रहरी कार्यालयबाट आवश्यकताअनुसार प्रहरी परिचालनका लागि तयारी अवस्थामा राखिएको समेत उहाँले बताउनुभयो । विभिन्न स्थानका सडकको अवरोध हटाउने कार्यमा समेत प्रहरी सक्रिय भएर लागेको र कतिपय स्थानको सडक खुलाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल पनि उद्धारमा सक्रिय

सशस्त्र प्रहरी बल नेपाल पनि उद्धार कार्यमा सक्रिय भएर लागेको छ । तालीम प्राप्त जनशक्तिसहित बाढी र पहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि १० हजारभन्दा बढी सशस्त्र प्रहरी खटाइएको छ ।

एकल प्रयासमा ८०० भन्दाबढीका उद्धार गरिएको, नेपाल प्रहरी र सेनासँगको संयुक्त प्रयासमा समेत उद्धार कार्यलाई तीव्रता दिइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले उद्धारका लागि भएका साधनस्रोतको उपयोग गर्दै क्षति न्यूनीकरणमा सशस्त्र प्रहरी सक्रिय भएर लागेको छ । फसेका, डुबान र बाढीमा परेका तथा बेपत्ता भएकाको खोजीलाई प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु