काठमाडौं । नेपालमा अहिले ज्यान लिने, करणीजस्ता घटनाहरु बढ्दै गइरहेका छन् । यो बीचमा फेरि अर्को ज्यान लिएको घटना बाहिर आएको छ । महोत्तरीमा उधारो पैसा दिन जाँदा एक जना महिलामाथि कुटपिट गरेर ज्यान लिइएको छ । महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर १ की ३५ वर्षीया रिनादेवीले छिमेकी राजेश ठाकुरसँग २ वर्षअघि भैंसीको दूध लिए बापत बाँकी रहेको २ सय ५० रुपैयाँ माग्न उनको घर पुग्दा यस्तो घटना भएको हो । बाँकी रहेको दूधको पैसा माग्दा ‘किन ताकेता गरिस्’ भन्दै राजेशले अमानविय तरिकाले कुटपिट गरेको उनका १४ वर्षीय छोरा सुरज चौधरीले जानकारी दिए । दूधको पैसा माग्दा केही साताअघि राजेशले रिनालाई अमानविय तरिकाले मारपीट गरेका थिए । उनको उपचारको क्रममा ज्यान गएको बताइएको छ ।

असार २० गते दिउँसो आमा राजेशको घर गएको छोरा बताउँछन् । सुरजका अनुसार उनीहरू विद्यालय गइसकेकाले घरमा कोही नभएको बेला रिनामाथि अमानविय व्यवहार गरिएको थियो । रिनाका श्रीमान् दयाराम चौधरी वैदेशिक रोजगारको क्रममा मलेसियामा छन् । टाउको, पिठ्यू, ढाड र तिघ्रामा चोट लागेको रिनाको परिवारले कुटिएको थाहा पाएपछि तत्कालै स्थानीय स्वास्थ्य चौकी, रामगोपालपुरस्थित स्वास्थ्य चौकी तथा जलेश्वर अस्पतालमा समेत लगियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो र विराटनगरमा उपचारकै क्रममा गत आइतबार ज्यान गयो । रिनाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । छिमेकी राजेश ठाकुर रिनाको ज्यान गएको थाहा पाएलगत्तै फरार भएका छन् । प्रहरीले घटनाबारे आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबरहरु