काठमाडौं । नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व. अरुण थापा मगरको आइतबार राजधानीमा सम्झना गरी विशेष कार्यक्रम सम्पन्न गरियो । नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरी गायक स्व. थापाको स्मृति कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री बिना मगरले वरिष्ठ गायिका पवित्रा घर्तीमगरलाई पुरस्कार सहित सम्मान गर्नुभएको थियो । गायिका घर्ती मगरले करिब ५ सयजति लोक तथा आधुनिक गीतहरु गाउनुभएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले अरुण थापा जस्तो चर्चित तथा लोकप्रिय गायकको सम्झना सबैले गर्नुपर्ने र गीत संगीतको क्षेत्रमा उहाँले दिनुभएको योगदानलाई राज्यले उचित कदर गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफूपनि गायक अरुण थापाको गीतको ठूलो प्रशंसक भएको स्पष्ट पार्नुभयो । फरक प्रसंगमा उहाँले राज्य व्यवस्था परिवर्तनमा मगर समुदायले गरेको त्याग र बलिदानीको उच्च प्रशंसा गर्नुभयो । ‘मगर समुदायले राज्य व्यवस्था परिवर्तन गर्न बलिदान मात्रै दिन जानेको छैन, उहाँले भन्नुभयो, ‘ मगर समुदाय समृद्ध नेपाल निर्माणमा समेत सहयोग र साथ दिन सधैं तयार रहनुपर्छ ।’

गायक स्व. अरुण थापाको सम्झना गर्दै कार्यक्रममा उनले गाएका गीतहरु कार्यक्रममा सहभागी अन्य गायकहरुले गाएका थिए । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया गरे पनि जति कसम खाए पनि’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, र ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध’ लगायत स्व. थापाका थुप्रै गीतहरु अझैपनि उत्तिकै चर्चित छन् । वि.सं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट गायक थापाको असामयिक निधन भएको थियो ।

सम्बन्धित खबरहरु