काठमाडौ । तीजको रौनकता सामान्यतया साउन महिना देखि नै सुरु हुने गर्दछ । साउन महिनामा हरेक सोमबारको व्रतको विशेष महत्व हुन्छ । आज महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौंका पशुपतिनाथ, कुम्भेश्वरलगायत मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो छ । साउन महिनाभरका सोमबार ब्रत बस्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहँदै आएको छ ।

ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकोले यो दिनको शिवोपासना विशेष मानिन्छ । यो वर्ष साउनमा चार वटा सोमबार पर्न गएका छन् । श्रावन महिना हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । साउन सुरु भए लगतै महिलाहरु रङ्गिन भएका छन् । हरियो पोते, पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ ।

साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ । यो महिनाभर महिलाहरु शुद्ध शाहाकारी खाना खाने तथा सोमबार ब्रत बस्ने गर्दछन् । आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमबार ब्रत वस्ने गरेको पाइन्छ । साउन महिनाभर माछा मासु नखाइ हरेक सोमबार मन्दिर गएर पूजा गर्नाले भगवानको कृपा तपाई र तपाईको परिवारमाथि पर्ने विश्वास रहँदै आएको छ ।

हरियो पहेंलो र रातो पोते एवं कपडा लगाउनुको पनि विशेष अर्थ हुन्छ । हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ । यो महिना कुमारी अर्था अविवाहित युवतीले सुयोग्य र राम्रो बर (बेहुला) माग्दै ब्रत बस्छन भने विवाहित महिलाहरु पतिको दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

सम्बन्धित खबरहरु