डोटी । डोटीमा सोमबार बिहानै स्कारपियो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार कैलालीको धनगढीबाट अछामतर्फ जाँदै गरेको बा १९ च ५३७ नम्बरको जिप बिहान ५ बजेतिर डोटीको पूर्वी चौकी गाउँपालिका-५, कुडीगाडामा सडकबाट खस्दा चालकसहित ७ जना घाइते भएका हुन्।

दुर्घटनामा जिप चालक अछामको मंगलसेन नगरपालिका–५ का ३१ वर्षीय थलेन्द्र उपाध्याय, यात्रुहरू अछामकै कमलबजार नगरपालिका-९ का ३३ वर्षीय दीपकप्रसाद उपाध्याय, जयगड गाउँपालिका-६ का ३ वर्षीय रितेश ठकुल्ला, सोही ठेगानाका ३० वर्षीय हरक ठकुल्ला, ३ वर्षका रोनिश ठकुल्ला, २७ वर्षीया दीपा ठकुल्ला, रामारोशन गाउँपालिका-१ का २३ वर्षीया रेजिना खनाल घाइते भएका हुन्।

यीमध्ये हरक, रोनिश र दीपाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अछामकै बलयपाटा अस्पताल लगिएको छ। जिप सडकबाट १५० मिटर मुनि खसेको सानागाउँस्थित प्रहरी चौकीले जानकारी दिएको छ।

सम्बन्धित खबरहरु