काठमाडौ । राजनीतिक परिवर्तनले खै के दियो ? कहिलेकाही यस्ता सहज प्रश्न गर्न अझैपनि केही नागरिक पछि पर्दैनन् । तर नेपालले २०६२/०६३ को आन्दोलनपछि विश्व चकित हुनेगरी राजनीतिक परिवर्तन पाएको छ । चमत्कारीक ढंगले भइरहेको शासक सहजै बदलिनु, संविधान सभाको निर्वाचन हुँनु, एक युगमा एक पटक हुने महासंयोग संविधान सभा बाटै नयाँ संविधान जारी हुनु यो सबै राजनीतिक कालखण्डलाई विश्वले चमत्कारीक परिवर्तन ठानेको छ ।

यही संविधानले देशलाई संघीय मोडलमा मात्र लगेन महिलाका लागि स्वर्ण युग बनेर आयो । राजनीतिमा महिलालाई माथिल्लो पदमा समेत आरक्षणको ब्यवस्था गर्यो । सोही कानून बमोजिम सबै राजनीतिक दलहरुले स्थानीय निर्वाचनमा पुरुष प्रमुख हुँदा महिला उपप्रमुख र सोही अनुसार महिला प्रमुख भए पुरुष उपप्रमुखको रुपमा स्थानीय तहमा उम्मेदवार बनाउँनुपर्ने कानूनी ब्यवस्था राज्यले अंगिकार गर्यो ।

भलै अधिकांश राजनीतिक दलहरुले महिलालाई उपप्रमुखको उम्मेदवार बनाएपनि यसले महिलाको स्थितीलाई कायापलट गराएको छ । अहिले धेरै जसो स्थानीय सरकारको उपप्रमुख र केहीमा प्रमुख समेत महिलाले बागडोर सम्हालेका छन् । यही समुहमा ३० बर्ष नै केही त अझ २५ बर्ष नै नकाटेका अबिबाहित सुश्री नेपाली छोरीहरु अहिले स्थानीय सरकारको उपप्रमुख बनेका छन् ।

सिन्धुपाल्चोकको पल्लो कुनोमा रहेको जुगल गाउँपालिकाकी २३ वर्षीया उपाध्यक्ष सृजना तामाङ, रसुवा नौकुण्ड गाउँपालिकाकी २२ वर्षीया सिर्जना लामा र म्याग्दीको मंगला गाउँपालिकाकी उपाध्यक्ष सृजना केसी सुश्री उपाध्यक्ष हुन् । उनीहरु ३० वर्ष को उमेर नहुँदै राज्यको माथिल्लो पदमा पुगेर शासन गर्ने स्थानमा पुगेका हुन् । सृजना केसी पढाइमा एमएड उत्तीर्ण छिन् ।

म्याग्दीको मंगला गाउँपालिकाकी उपाध्यक्ष सृजनाका लागि परिवारबाट शिक्षक बन्ने दबाब आए पनि रुचि र माहोलले उनलाई राजनीतिमा तान्यो । ‘मेरो बुबा पनि शिक्षक हुनुहुन्छ, मलाई पनि शिक्षक बन्नुपर्ने भनेर दबाब आएपछि शिक्षण लाइसेन्ससमेत लिए,’ उनले सुनाइन्, ‘तर, समाजसेवामा जोडिएको आफ्नो सानैदेखिको अभिरुचिका कारण राजनीतिमा लागेकी हुँ उनले खुलाईन् ।

जुगल गाउँपालिकाकी सृजना तामाङका अनुसार उनको गाउँ चीनको सीमावर्ती बिन्दुमा छ । इतिहासमा व्यापारको नाका रहेको ‘कुती’ सँग जुगल हिमाल जोडिएको छ । ‘हामीकहाँ ढुंगाखानी छ, जडिबुटी मुहान छ, भैरवकुण्ड जस्तो पर्यटकीय गन्तव्य छ । यसकारण पनि हाम्रो भविष्य राम्रो छ,’ सृजनाले सुनाइन्– ‘अरूभन्दा पनि पहिलो चरणमा तेम्बाथाङसम्म जाने बाटो र टेलिफोन सेवा जोड्नका लागि दौडधुप गरिरहेकी छु ।’

उनका अनुसार, गाउँपालिकामध्ये सबैभन्दा पहिलोपटक शिक्षाको ऐन बनाउने र त्यसलाई लागू गराउने जुगल गाउँपालिका भएकाले ‘चेतना विस्तार’ गराउने ध्याउन्न सबैमा रहेको स्थिति छ । गाउँमा रहेका अधिकांश युवायुवती विदेश गइरहेको र गाउँमा गर्न सकिने सम्भावनाका कामकुराहरू अल्झिरहेको उनको बुझाइ छ ।

जुगल हिमालको सीमामा द्विदेशीय व्यापार नाका खोल्ने भनेर हिमालमुनि १२ किलोमिटर सुरुङ खन्नेबारे चिनियाँ पक्षबाट अध्ययन भइरहेको उपाध्यक्ष सृजनाले जानकारी दिइन् । ‘हाम्रो गाउँको दुःख के हो, मैले राम्ररी बुझेकी छु,’ उनी सुनाउँछिन्, ‘अब आफ्नो गाउँलाई आत्मनिर्भर बनाउन र जुगललाई चिनाउन लागिरहेकी छु ।’

म्याग्दीको मंगला गाउँपालिकाकी उपाध्यक्ष सृजनाका बुझाइमा गाउँपालिकामा उपाध्यक्षका लागि ‘न्यायिक समिति’ सहितका अधिकार कार्यक्षेत्रहरू दिए पनि अझै महिलालाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको छैन । ‘हामी महिलाले पनि आरक्षण मात्रै भन्नु हुँदैन, कामका आधारमा आफूलाई पुष्टि गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

उनका निम्ति गाउँमा सबैभन्दा जटिल समस्या भनेको ‘महिलामाथि हुने हिं सा’ नै हो । र, महिलालाई सशक्त बनाउन चाहेमा क्षमता विस्तार गर्ने–गराउनेभन्दा पनि ‘कति पैसा पाइन्छ ?’ (पैसामुखी) भन्ने सोच निकै हावी रहेको अर्को कठिनाइ उनले सुनाइन् ।

रसुवा नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष २२ वर्षीया सिर्जना लामाका अनुसार त्यहाँको मुख्य समस्या बहुविवाह हो । ‘आफ्नी श्रीमतीलाई जानीजानी विदेश पठाउने र अर्कै बिहे गरेर यता बस्ने चलनजस्तै गाउँमा भइसक्यो,’ उपाध्यक्ष सृजनाले सुनाइन्, ‘अब यसमा रोजगारीबारेको सूचना, कानुनी कडाइ र कारबाहीको उपाय खोज्दैछु ।’

स्थानीय तहमा न्यायिक कार्यको नेतृत्व उपाध्यक्षमै जिम्मेवारीमा पर्छ । उनी नेपालकै कान्छि उपाध्यक्षको रुपमा चिनिन्छिन् । अबिबाहित नै रहेका उपाध्यक्षहरु अब बिबाह कहिले गर्ने त भन्ने प्रश्नमा, ‘कम्तीमा ५ वर्ष बिहेका बारेमा नसोध्नुस्, त्यसपछि कुरो गरम्ला  भन्दै स्पष्ट पारेका छन् ।

 

सम्बन्धित खबरहरु