काठमाडौ । मौद्रिक नीति सार्वजनिक हुनै लाग्दा पुँजी बजारमा पनि उत्साह थपिएको छ । यसअघि बजेट आएको लामो समयसम्म पनि मौद्रिक नीति नआउँदा लगानीकर्ता अन्योलमा परेका थिए । मौद्रिक नीति पुँजी बजारमैत्री हुने अपेक्षमा लगानीकर्ता छन् । केन्द्रीय बैंकले विशेष गरी ब्याजदर घटाउन तथा तरलता सहज पार्न सक्ने गरी मौद्रिक उपकरणको परिचालन गर्ने विश्वासमा लगानीकर्ता बसेका छन् । यसैको आशामा बजार क्रमशः माथि लागेको हो ।

पुँजीगत लाभकर गणना विधिमा उत्पन्न समस्या समाधान गर्ने सरकारी आश्वासन प्राप्त भएकाले पनि लगानीकर्ताको आत्मबल बढेको विश्लेषण भइरहेको छ । त्यसो त बजेट सार्वजनिक भएपछि सेयर बजार माथि जान सकेको छैन । निरन्तरजसो नेप्से घट्दा बजारमा सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भइसकेको छ । भाउ सस्तो भएकाले पनि लगानीकर्ता आकर्षित हुने क्रम बढेको हो ।

साउन लागेसँगै वित्तीय प्रणालीमा तरलता सहज भएको छ । लगानीकर्ताले सजिलै सेयर कर्जा पाउन सक्ने अवस्था भएकाले पनि बजारमा सकारात्मक प्रभाव पर्ने अवस्था छ । पुँजी बजार सुधारका कामले गति लिइरहेको छ । लगानीकर्ताका माग बमोजिम केन्द्रीय बैंक, धितोपत्र बोर्ड, नेप्से लगायतले सुधारका कदम चालेका छन् । ब्रोकर सेवा विस्तार हुँदैछ । मार्जिन लेन्डिङ पनि कार्यान्वयन हुने तरखरमा छ । यसर्थ, क्रमशः बजारले गति लिने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित खबरहरु