काठमाडौं । लगातारको वर्षापछि हैरान भएका सर्वसाधारणलाई राहत मिल्ने भएको छ । मौसमविद्का अनुसार आज देखि पानी पर्ने क्रम विस्तारै कम हुँदै जाने भएको छ । मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर सरिरहेकोले मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशभर सामान्यतया बदली भई देशका पूर्व र पश्चिमका केही स्थानमा भने वर्षा भइरहेको छ ।

आज देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने देखिएको छ । पश्चिम तराई र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । अबको केही दिन देशैभर सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनकुटा, पर्सा, बारा, नवलपरासी, कैलाली, कञ्चनपुर, दाङलगायत आसपासका नदी तथा खोलामा बाढी आउन सक्छ । यस्तै, मेची, बिरिङ, निन्दा, लोहन्रा, चिसाङ, मावा–रतुवालगायत प्रदेश १ र २ को चुरेबाट बहने केही साना नदीमा एक्कासी बाढी आउने भएकाले नदी आसपासका स्थानीयलाई सचेत रहन भनिएको छ ।

सम्बन्धित खबरहरु