काठमाडौ । भुकम्पले भत्काएका घर पुननिर्माण गर्न नसकी गोठमा बसिरहेका घुमारचोक तामाङ बस्तिका १० जना अति विपन्न एकल महिलाले नयाँ घर पाएका छन् । अमेरिकामा बस्दै आएका हेम पाठक र सरिता पाठक दम्पत्तीले स्थापना गरेको हेम सरिता पाठक एकेठेमीको पहलमा घुमारचोकमा १० वटा नमूना घर बनेका हुन् ।

शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारचोकका दशजना विपन्न एकल महिलालाई नगरपालिका मेयर सुवर्ण श्रेष्ठ र हेम सरिता पाठक एकेडेमीका संरक्षक हेम पाठकले एक समारोहबीच नयाँ घरको साँचो र जिविकोपार्जनका लागि बाख्रा समेत हस्तान्तरण गरे । उग्रतारा मावि परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई नयाँ जीवनको लागि शुभकामना सहित साँचो र बाख्रा हस्तान्तरण गरिएको हो ।

चार वर्षअघिको भूकम्पले पूरानो घर भत्काइयदिएपछि ४७ वर्षीया सम्झना घलानले अर्को घर बनाउने आशा मारिसकेकी थिइन् । राज्यले दिने ३ लाखले ओत लाग्ने घर बन्न सम्भव थिएन । तर शनिवार जब उनले पक्की घरको चाबी पाइन् त्यसपछि आँखाबाट हर्षका आँशु झरे उनका ।

चारवटा बाख्रा डोहो¥याउँदै नयाँ घर प्रवेश गर्न उकालो चढ्दै गरेकी राममाया मोक्तानाले नयाँ घर बनाएर बस्ने आशा मरिसकेको बेला आफूले सपनामा पनि नसकेको घर पाएको बताइन् । उनले अब नयाँ घरको अगाडि खोर बनाएर बाख्रा पाल्ने र खसी बेचेर जीवन गुजारा गर्ने योजना सुनाइन् । घरको चाबी थैलीमा राख्दै उनले हेम पाठक र सरिता पाठकलाई धन्यवाद दिइन् ।

अमेरिकामा बसोबास गर्ने हेम पाठक र सरिता पाठक दम्पतीले सामाजिक कामका लागि गठन गरेको हेम सरिता एकेडेमी,युएस नेपाल वेलकेयर सोसाइटी र गामाको आर्थिक सहयोगमा वडाध्यक्ष हितमान तामाङले अगुवाइ गरेर यस गाउँका अति विपन्न एकल महिलाका लागि १० वटा नमूना घर बनेका छन् ।

करीव ६ लाख रुपैयाको लागतमा भूकम्प प्रतिरोधी घर निर्माण भएको र लाभग्राही एकल महिलाको सूची वडा कार्यालय तथा स्थानीय अगुवा बसेर तय गरि हेम सरिता एकेडेमीलाई बुझाइएको उनले बताए । बस्ने घर दिएपछि आयआर्जनको लागि केही सहयोग होस भनेर आफूले वडाध्यक्षलाईनै आग्रह गरेर प्रति परिवार ५ वटा बाख्राका पाठाको व्यवस्था गर्न लगाएको पाठकले बताए ।

समय कम र गाउँभरि खोज्दा पनि प्रति परिवार ५ वटा बाख्रा पुर्याउन नसकिए पनि कम्तिमा तीन देखि ५ वटासम्म वितरण गरिएको उनले जानकारी दिए । हेम सरिता पाठक एकेडेमीले यसअघि यहि घुमारचोक गाउँको तामाङ बस्तिका विपन्न जनतालाई आयआर्जनको कामका लागि १७ लाख रुपैया लगानी गरिसकेको वडाध्यक्ष तामाङले बताए ।

हेम सरिता पाठक एकेडेमीले बिगत करीव एक दशकदेखि काठमाडौंको यो बत्तिमुनीको अँध्यारोमा उज्यालो छर्ने प्रयास गरिरहेको मेयर श्रेष्ठले बताए । भुकम्पले भत्किएका घर पुननिर्माण गर्न नसकेर गोठमा बसिरहेका विपन्न एकल महिलाको लागि घर बनाउने काम सामान्य नभएको भन्दै उनले पाठक परिवारले वितरण गरेका बाख्राले ती महिलाको जिबिकोपार्जनमा सघाउने बताए ।

भ्रष्टाचारविरोधी अभियान चलाइरहेका पाठकले दाताको सहयोगमा स्थानीय श्रम थपेर सदुपयोग गर्ने घुमारचोकका जनप्रतिनिधि र स्थानीय अगुवाको व्यवहारले आफूहरुलाई सामाजिक काममा लाग्न प्रेरित गरेको हेम सरिता पाठक एकेडेमीकी अध्यक्ष जेनी पाठकले बताइन् । उनले उग्रतारा माविमा आयोजित कार्यक्रममै यसवर्ष एसइइमा उत्कृष्ट अंक ल्याउने एक छात्रालाई छात्रबृत्तिको घोषणा गरिन् ।

६ वर्षअघिसम्म विद्यालय भवन र विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेको उग्रतारा विद्यालय हेम सरिता पाठक एकेडेमीको सहयोगका कारण माध्यमिक तहको विद्यालय बनेको र यसले नगरपालिकाभरिकै उत्कृष्ट नजिता ल्याएको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका तामाङले बताए । पाठककै सहयोगमा उच्च मावि बनाउने तयारी भइरहेको समेत उनले जानकारी दिए ।

हेम सरिता एकेडेमीकै पहलमै ५ वर्षअघि उग्रतारा विद्यालयमा नयाँ भवन बनेपछि यहाँ माविसम्मको पढाई शुरु भएको थियो । एकेडेमीले मावि तहको पठनपाठनका लागि सोही समयदेखि पाँच जना शिक्षकको तलब समेत व्यहोर्दै आएको छ । सो विद्यालयले नगरपालिकाभरिका अन्य विद्यालयलाई उछिनेर उत्कृष्ट नतिजा ल्याएको मेयर श्रेष्ठले बताए । यहाँका विद्याथीलाई पाठक परिवारले नगद पुरस्कार समेत दिए ।

दाताको सहयोगलाई सदुपयोग गर्दा विद्यालय र गाउँको प्रगति कसरी हुन्छ भन्ने उदाहरण घुमारचोक बनेको छ । अमेरिकामा दुःख गरेर कमाएको रकम यो गाउँको विकासमा लगाएका पाठक परिवारले आफ्नो सहयोगलाई स्थानीयले श्रमदानबाट दोब्बर बनाएको भन्दै गाउँ तथा विद्यालयको विकासमा हालको सहयोग बृद्धि गर्दै लैजाने बचन समेत सोही कार्यक्रममा दिए ।

पाठकले भुकम्पबाट घर भत्किएपछि बेसहारा बनेका एकल महिलालाई नयाँ घरमा प्रवेश गराउँदै आफूले दिएका बाख्रा नबेच्न र काटेर नखान आग्रह गरे । उनले चाँडैनै उच्च मावि तहको पठनपाठन हुने गरि उग्रतारा विद्यालयलाई सहयोग थप्ने आश्वासन समेत दिए । हाल सो विद्यालयमा करीव तीन सय विद्यार्थी अध्ययन गरिरहेको शिक्षक कृष्णचरण श्रेष्ठले जानकारी दिए ।

करीव डेढ दशकअघि अमेरिका पुगेका हेम पाठक र सरिता पाठक नेपालमा हुँदा सन्चार तथा राजनीतिक क्षेत्रमा क्रियाशील थिए । यसबीचमा हेम सरिता पाठक एकेडेमीमार्फत उनीहरुले घुमारचोकमा विद्यालय भवन बनाउनेदेखि ४० जना विपन्न परिवारलाई आयआर्जनका लागि २५ हजारदेखि १ लाख रुपैयासम्म दिएर स्वरोजगार बनाइसकेको वडाध्यक्ष तामाङले बताए ।

हेम सरिता एकेडेमीले बाजुराका अनाथ ३ जना बालवालिकालाई काठमाडौंमा पढाइरहेको छ भने झापाका सिमान्तकृत समुदायका १२ जना बालवालिकालाई बोर्डिङ स्कूलमा पढाइरहेको छ । एकेडेमीले भ्रष्टाचार बिरोधी सर्जक,अभियन्ता र पत्रकारलाई हरेक वर्ष सुशासन पुरस्कार दिने गरेको छ ।

सम्बन्धित खबरहरु