बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बर्षेनी बढ्दै गएको छ। पाटे बाघ संरक्षणका लागि विक्रम् सम्वत् ०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघको संख्या बर्षेनी बढ्दै गएको निकुञ्जले जनाएको छ। स्थापना पछि सन् २०१३ मा गणना गर्दा चार वटा पाटे बाघ फेला परेका थिए। भने, सन् २०१८ मा गणना हुँदा बयस्क बाघको संख्या २१ पुगेको सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिए।

निकुञ्जमा उचित सुरक्षा, बाघलाई चाहिने आहारा, सुरक्षित बासस्थानको ब्यवस्थापन भएका कारण निकुञ्जमा चित्तल, बँदेल, झारल, जरायो, हरिण, लंगुवालगायतका बाघका आहाराजन्य बन्यजन्तुको संख्या पनि बढेको उनले बताए। उनले बाघका लागि चाहिने आहारा र सुरक्षित बासस्थात तथा सुरक्षा ब्यवस्था मिलाएकोले बाघको संख्या बर्षेनी बढ्दै गएको बताए।

‘चोरी शिकारी हुन नपाउँदा बाघको संख्या बढ्को पाइएको हो,’ उनले भने। बर्दिया राष्ट्रिय निकुञ्जमा पनि बाघको संख्या बढेको छ। पछिल्लो गणना अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुगेको छ। सन् २०१८ को गणनामा बर्दियामा ८७ वटा बाघ बढेको निकुञ्जले जनाएको छ। यसैवीच, सोमवार बाघ दिवस मनाइने भएको छ।

दिवसका अवसरमा सोमवार कोहलपुरमा बाघ संरक्षणका चुनौती र बाघबारे स्थानीय बासिन्दा, मध्यवर्ती क्षेत्रका उपभोक्ता र स्थानीय सरकारको समेत धारणा बुझिने बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत थपलियाले बताए।

बाँके निकुञ्जका तीन ठाउँमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विशेषज्ञ र सरोकारवालासँग बाघ दिवसका अवसरमा संरक्षण, चुनौती र समाधानका प्रयास बारे छलफल गरिने उनले बताए। नेपाल सरकारले सन् २०२० सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ।

सम्बन्धित खबरहरु