काठमाडौ । सिन्धुपाल्चोकको सरकारी कार्यालय जलाइएको छ । मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् । बुधबार बिहान साढे तीन बजेदेखि चार बजेको बीचमा आगजनी भएको छ । आगो लागेको जानकारी पाएलगत्तै स्थानीयले आगो निभाउन खटिएका थिए । स्थानीयले आगो निभाइसकेपछि प्रहरी घटनास्थल पुगेको थियो । बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली घटनास्थल पुगेर निरीक्षण गरेका थिए । उनीहरुले नै जलेका सामानबाहिर निकालेका थिए ।

वडाअध्यक्ष भक्तबहादुर खड्काका अनुसार एउटा हल र दुई कोठा भएको भवनभित्रका सबै सामान कामै नलाग्ने गरी जलेका छन् । बिहान साढे पाँच बजेतिर आगो लागेको भनेर स्थानीयले खबर गरेपछि आफू घटनास्थलमा पुगेको बताउँदै उनले भने, ‘फर्निचर त फेरि किन्न सकिएला, तर अभिलेखहरु अब कहाँ पाउनु रु’

करिब २० लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन बनाइएको थियो । भवनभित्र दराज, सोफा, कम्प्युटर, प्रिन्टर, कागजपत्र लगायतका सामान थिए । ती सबै सामान जल्दा जस्ताको छानोसमेत कच्याक कुचुक भएर काम नलाग्ने भएको छ । वडाअध्यक्ष खड्काले यसअघि कसैको धम्की, चेतावनी पनि नआएको र कसले आगो लगायो भन्ने थाहा नभएको बताए ।

मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर महेन्द्र दर्नालले बिहान ६ बजेतिर आफूले घटनाबारे जानकारी पाएको अनुसन्धान गरिरहेको बताए । दर्नालले भने, ‘घटनास्थलको प्रकृति हेर्दा आगो लगाउने व्यक्ति कार्यालयको मुख्य ढोकाको ताल्चा हेक्सा ब्लेडले काटेर भित्री छिरेर आगो लगाएको पाइयो, यसको अनुसन्धान जारी छ ।’ तर, अहिलेसम्म आगजनी गर्ने व्यक्ति वा समूह पत्ता लागेको छैन । प्रहरीले पनि कसैलाई पक्राउ गरेको छैन ।

सम्बन्धित खबरहरु