काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा ब्रम्हलुट भएको वताएका छन् । विदेशी उक्साहट, दबाब र प्रभाव अनि आर्थिक लोभले गर्दा समस्या बढेको चर्चा गर्दै थापाले मुलुक जरजर भएको, भ्रष्टाचार महारोगको रुपमा देखा परेकोमा चिन्ता ब्यक्त गरे ।

एनसेल कर छली, वाईडबढी, सुन तस्करी, मेलम्ची, बुढिगण्डकी, बालुवाटार जग्गा जस्ता काण्डले मुलुकलाई तहसनहस बनाईएको आरोप थियो । संबैधानिक अङ्गमा पार्टीकरण र भागबण्डा, प्रशासनिक क्षेत्रमा नियुक्ति र बढुवा हुँदा आर्थिक चलखेलले देश असफलता तर्फ उन्मुख भएको बताए ।

भ्रष्टाचार काण्डमा सरकार र प्रमुख प्रतिपक्ष दल, कर्मचारीतन्त्र नै मुछिनु दुर्भाग्यपूर्ण रहेको उनको कथन थियो । विदेशी गुप्तचर संस्थाका मान्छे आउदा लुकि लुकि भेट्ने होडबाजी प्रती थापाको कटाक्ष थियो । कार्यक्रममा बोल्दै राप्रपा वरिष्ठ नेता दिपक बिहराले संगठनलाई तिब्रता दिई आन्दोलनको तयारिमा जुट्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । मुलुकमा ब्याप्त रहेको बिकृतीका विरुद्ध लड्न बलियो विद्यार्थी संगठन आबश्यक रहेको बोहराले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सम्झौताको भावना बिपरित हिन्दुत्व समाप्त पारिएको, राजालाई पाखा लगाईएको, संघीयताबारे बहस नै नगरी जबर्जस्ती लादिएको भन्दै थापाले तीब्र आक्रोश पोखे ।

आज काठमाडौंमा आयोजित उपत्यका स्तरीय विद्यार्थी भेलालाई सम्बोधन गर्दै थापाले बढ्दो विदेशी प्रभाव र दबाबप्रती युबा पुस्ता सचेत हुनुपर्ने बिचार व्यक्त गरे । आन्दोलन गर्न र चुनाव लड्न विदेशीसँग आर्थिक सहयोग लिनेहरुले राष्ट्रियताको संरक्षण गर्न नसक्ने थापाको ठोकुवा थियो । पुर्व अध्यक्ष एबं राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले नेपाल र नेपालीलाई दास बनाउने षड्यन्त्रको भण्डाफोर गर्दै अघि बड्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेताहरु धनबहादुर बुढा, प्रकाश रिमाल, महेश सिंह, निराजन बम, कमल रजवार, प्रतीक लामिछाने, समीर थापा लगायतले बोलेका थिए ।

सम्बन्धित खबरहरु