काठमाडौ । राजेन्द्र लिंदेन राप्रपाका महामन्त्री र संसदमा एक मात्र सांसद हुन् । वाम गठबन्धनको समर्थनमा सांसद निर्वाचित भएका लिंदेन जनजाति भए पनि जातीय आरक्षणको विरोधी हुन् ।

उनी संविधानले सवै समुदायलाई वरावर अधिकार दिएको वताउँदै अव राज्यले वर्गीइ आधारमा आरक्षण गर्नुपर्ने वताउँछन् । युरोपियन युनियनले खसक्षत्रीलाई दिएको आरक्षण हटाउनु पर्ने प्रतिवेदन दिएको सन्दर्भमा लिंदेनसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानी स्

युरोपियन युनियनले नेपालमा खस क्षत्रीलाई अरुलाई जस्तो आरक्षण दिइनु हुँदैन भनेर निर्वाचन पर्यवेक्षण प्रतिवेदन दियो । त्यसपछि केहि जातीय आन्दोलनका अभियन्ताहरुले त्यसको वचाउ गरिरहेका छन् । के नेपालमा जनजातिहरु हेपिएका र सवै खस क्षत्रीले अवसर पाएका हुन् ?

मैले सधैं भन्दै आएको छु । हिजो कतिपय भौगोलिक अवस्थाका कारण, राजाहरुका शासन ब्यावस्थाका कारण कोहि जातिलाई या कहिं बसोबास गर्नेलाई मर्का पर्न गयो होला । हिजो कसले के गर्यो त्यो हिजोको कुरा हो । हामी आज नेपाल कस्तो बनाउने भन्ने पृष्ठभूमीमा उभिएका छौं ।

नेपाल कस्तो बनाउने, हाम्रो हातमा छ । अर्को, हामीले हाम्रै हातले संविधान पनि लेखिसक्यौं । अब यो बेला नेपाल बनाउनतिर लाग्ने कि सयौं वर्ष अगाडिको इतिहासमा कसले के गर्यो भनेर त्यसकै नाममा अन्तरध्वंश चलाउने ? अव काम गर्ने बेला हो, हिजोलाई पच्याएर बस्ने र भविश्यलाई पछि पार्ने होइन ।

अहिले पनि हिजोलाई नै पछ्याउदै बस्ने र आज पनि पछि पर्ने ? हामीले त सबैको प्रतिनिधित्व हुनेगरी संविधान हाम्रै हातले बनाइसक्यौं । समानुपातिक सहभागिताले पनि यी सबै कुरा समेटिसकेको छ । अझै केहि भए हेरफेर गरेर अघि बढ्न सकिन्छ । को को कसरी जाने भनेर हामीले नै संविधान बनाएको हैन ? अब जसले जे पाउने हो संविधानले दिन्छ, दिएको छ । जो सडकमा छन् तिनले आफूले जानेर भन्दा पनि अर्काको उक्साहटमा विरोध गर्ने काम गर्दैछन् । म तिनीहरुलाई देशको माया गर्न र राष्ट्रियता कमजोर हुनेगरी अरुको एजेण्डामा नलाग्न आग्रह गर्छु । विग्रिएकै भए पनि जात भन्दा पहिला हाम्रो देश हो । अब हामी समृद्ध देश बनाउन लाग्नु पर्छ । हिजो के भयो भनेर आजको नेपाल र नेपालीलाई छिर्के लागाएर होइन ।

तपाईं संविधानमा समान सहभागिताको ग्यारेन्टी छ, अब देश समृद्धिमा जानुपर्छ भन्नुहुन्छ । जनजाति अगुवाहरु त असन्तुष्टि ब्यक्त गरिरहेका छन् त ?
मैले यहि भन्दै आएको छु कि संविधानले सबै समेटिसक्यो । अब केहि बाँकी भए वर्गीय संरक्षणको जरुरी छ । गरिवहरुको निक्र्योल गर्ने र राज्यले तिनीहरुलाई आरक्षण दिने हो । अहिलेको आरक्षणले बर्गीय खाडल झन् बढाउँछ । जातजातलाई दिएको आरक्षण तत्काल खारेज नगरी देशलाई अघि बढाउनै सकिंदैन । जातको नाममा धनीले आरक्षण ओगटेर गरिव सबै पिसिइरहेको हामीले हेरिरहनु हुँदैन । यो आरक्षणजति सबै हटाउनु पर्छ । झन् यो जातीय आरक्षण देशको लागि प्रत्युत्पादक भइसकेको छ । यसले देशमा विखण्डन मात्र निम्त्याउँछ ।

आन्दोलनको कुनै औचित्य छैन । त्यो बेमौसमको बाजा हो । अब हामी लड्ने होइन राष्ट्रियताको लागि एक ठाउँमा उभिनु पर्छ । यस्ता आन्दोलनले त नेपालीको सार्बभौमिकता माथि नै प्रहार गर्छ । अनि न रह्यो बाँस न बज्छ बाँसुरी हुन्छ । त्यसैले सरकारसँग हामी समृद्ध नेपाल निर्माण गर्नेहरुको माग छ जातीय आरक्षण हटाउँ । इयुको इसारामा भएको आन्दोलन, मागहरु सर्वथा अनुचित हो । यसको म निन्दा र भत्र्सना गर्न चाहन्छु ।

यस्ता आन्दोलनहरुमा सिधै बाहुनलाई नै इंगित गरेर बाहुन हरुले नै दवाए भनिएको हुन्छ के त्यस्तै हो ?
त्यस्तो हुँदै होइन । हाम्रो जस्तो देशमा एउटा जातले अर्को जातलाई दवाएको छ भनेर भन्नै मिल्दैन । हाम्रो जस्तो मिक्स समाजमा सबैतिर बाहुन मात्र पदमा थियो भन्नु नै बेठिक छ । कतै बाहुनहरु थिए कतै गुरुङ थिए, कतै दमार्ईंहरु मुखिया थिए । कतै बाहुन दलितबाट शासित थिए । कतै दलित बाहुनबाट शासित थिए त कतै जनजाति बहुनबाट शासित थिए । कतै गुरुङबाट शासित थिए । बाहुनले नै मात्र हेपेका थिए भनेर भनिनु नै सर्वथा गलत छ ।

पछाडि पारिएको भए पनि फलानो जातका कारणले हामी पछि पर्यांै अब त्यो जात पछाडि पारिनु पर्छ भन्ने माग अनुचित हो । सबै जातिलाई प्रतिस्पर्धी बनाउने हाम्रो संविधान छ । त्यसैलाई पछ्याउनुको विकल्प छैन ।

एकखालका जनजातिहरु सडकमा इयुको साथ लागेर आएका छन् । तपाईं भने जातीय आरक्षण नै खारेज हुनुपर्छ भन्नुहुन्छ किन ?
एक लाईनमा भनौ, यो जातीय आरक्षणले देशलाई ठिक दिशामा लांदैछैन । म पनि पहाडमा कोदोको ढिंडो खान नपाएर तराई झरेको लिम्बुको छोरो हुँ । तराई आएपछि दुईचार कक्षा पढियो, केहि कमाइयो । मेरो घरमा एक जोडी बाहुन बाहुनी काम गर्छन् । बाहुनी किचनमा र बाहुन गोठमा । अब जातीय आरक्षणको कोटामा म माथि आउने र उनीहरु त्यहिँ थिचिइरहने हुन्छ । यो न्याय भयो ? बरु धनीहरुबाट गरिवहरु दविएका छन् । त्यो अझै पनि छ । त्यसलाई उठाउन हामीले वर्गीय आरक्षणको ब्यवस्था गर्नु पर्छ । धनी सम्पत्तिले राज्य सत्तामा पुगिरहने, गरिव त्यसैगरि दलिएर काम गरिरहने हो भने देशले फ्ड्को मार्न सक्दैन । यसको असर अहिले पनि अलिअलि देखिन थालेको छ । तर कालान्तरमा कुनै बाद र तन्त्र भन्दा ठूलो असर यहि आरक्षणले गर्छ ।

यो आरक्षणले बौद्धिकतालाई एउटा कोठामा लगेर बन्द गरेको छ । बाहिर के होला अनुमान गर्नुस् त ? । एउटा ९० प्रतिशत अंक ल्याएर पास गरेको बाहुनले बाहुन भएका कारण डक्टर पढ्न पाउँदैन । बल्लतल्ल पास भएको जनजातिले डाक्टरको कोटामा नाम निकाल्छ । त्यस्तो जबरजस्त पढेको डक्टरसँग बाबुले उपचार गर्न सक्दैन । मेरो छोरोले डाक्टर पढेको भनेर उसैको बाबुले उसँग उपचार गराउँन सक्दैन भने त्यसले देशलाई कहाँ लैजान्छ ? त्यसैले फेरि पनि भन्छु– यो आरक्षणले हामीले चाहेको समृद्ध नेपाल बन्दैन, आरक्षण हटाउनुपर्छ ।

अन्य देशमा राष्ट्रियताका एजेण्डामा सबै जनता एक ठाउँमा उभिन्छन् । तर हाम्रो देशमा चाहिं राष्ट्रियताको एजेण्डा उठाउँदा पनि खोक्रो राष्ट्रवाद भन्ने किन हुन्छ ?
हो, अहिले मुल राष्ट्रिय पहिचानको कुरा कसैले गर्दैन । जातीय र क्षेत्रीय पहिचानको कुरा जोडतोडले गरिन्छ । यसको फाइदा यहाँ खेल्न चाहानेले उठाएको छ । मान्छेहरु चन्द्रमामा पुगिसके । विश्वमा १६, १७ देश हुँदा भारत र अमेरिका थिएन तर नेपाल थियो । नेपाल र नेपाली भन्दा गर्वले छाती फुलाउनु पर्ने ठाउँमा खण्ड खण्ड भएर सानो झुण्डको नेता बन्दा आफूलाई मालिक सम्झने मानसिकताले अहिले पनि काम गरेको छ । कहाँ छौं हामी अझै ? उसले हिजो हामीलाई पछि पार्यो, अब म पनि त्यसलाई तल पार्छु भनेर देश कहाँ पुग्छ ? हामी बुझेका मान्छेले गर्ने काम हो त्यो ? छातीमा हात राखेर भनौं के हामी त्यो नेपाल राष्ट्रको निम्ति नै गरिरहेका छौं ? नेपाल समावेशीतामा अघि छ, विश्वले पच्छ्याएको छ । यसमा कुनै दुईमत छैन । समावेसी, समानुपातिकको हिसावले विश्वकै उत्कृष्ट संविधान छ । त्यसैले अरुका एजेण्डा बोकेर होइन देशका एजेण्डा बोकेर हिंड्दा गर्व गरौं ।

यसरी राष्ट्रियता खण्डित हुने कारण के हुन् ? र तपाईंले भने जस्तो राष्ट्रिय एकता मजबूत पार्ने इन्डिकेटरहरु चाहिँ के हुन् ?
धतुरो रोपेर आँप फल्दैन । हिजोको आन्दोलनमा उनीहरुलाई स्वागत गर्यो र अहिले इयुले खेल्न पाएको छ । यसलाई रोक्नु पर्छ । एक एक गरी यिनलाई छानेर देशमा आउनै बन्द गरिनु पर्छ ।

राष्ट्रिय एकता मजबुत बनाउने हाम्रो धर्म थियो, भाषा थियो, पोशाककै कुरा गरौं । कुनै प्रदेशमा त राष्ट्रिय पोशाक पनि मर्यादा पालकले नै लगाउन नहुने बनाइएको छ । यसरी हाम्रा राष्ट्रिय एकताका आधारहरु खण्डित बनाएर लैजाने काम भएको छ । फेरि सँगसँगै यी सबै कुरा भएर देश समृद्ध भएन भने गरिवहरु अरुको गुलाम गर्न जानै पर्ने परिस्थिति रहिरहन्छ । राष्ट्रियता मजबुत हुँदैन ।

यहिँनेर एउटा कुरा जोडौं, अहिले गाईको कुरा उठेको छ । विज्ञानको हिसावले, सनातन परम्पराको हिसावले र संविधनको ब्यावस्थाको हिसावले पनि अन्य जनावर त काटेर खान पाईंदैन भने गाई काटेर खान्छु भन्न पाईंदैन । यो कुरा सबैले बुझुन् ।

ब्रिटिश आर्मी देखि भारतीय आर्मीमा पनि जनजातिहरु नै छन् । खासमा आर्थिक पहुँचमा सम्पन्न चाहिँ जनजाति नै देखिन्छन् होइन ?
त्यस्तो पनि हैन । केहि जनजाति धनी होलान्, कतै बाहुन पनि धनी होलान् । तर मेरो एउटै मात्र भनाई छ, अब आरक्षणको नाममा धनीले पाइरहने र अर्को जातको भएका कारण गरिव गरिवको गरिवै हुने अनि त्यसैले आरक्षण पाउने हुनु हुँदैन । गरिवलाई आरक्षण भएपछि त जनजाति गरिव छ भने गरिवले पाउँछ । बाहुन गरिव छ भने पनि त्यो आरक्षण गरिवले पाउँछ । मेहनतको कुरा गर्नुहुन्छ भने एउटा धनीको बच्चाले भन्दा गरिवको बच्चाले धेरै गर्छ । देश प्रतिको लगाव पनि त्यो गरिवलाई धेरै हुन्छ किनभने उसले चाहेर पनि यहाँ केहि हुँदा बाहिर गएर बस्ने पहुँच राख्न सक्दैन ।

राप्रपाको एकमात्र प्रतिनिधिको रुपमा एमालेको सर्मथनमा शानदार मत सहित झापाबाट जित्नु भयो । त्यहाँ तपाईंको भुमिका कस्तो हुन्छ ?
हो मैले एमालेको सर्मथनमा जितेको हुँ । उहाँहरुको मतको म सधैं कदर गर्नेछु । जहाँसम्म मेरो प्रतिनिधित्वको कुरा गर्नुभएको छ, अस्ती पनि संसदमा बोल्दा मैले भनेको थिएँ कि मेरो लागि भष्टाचार गर्नु आमाको रगत खाए बराबर हो । हामी सबैले देशलाई मर्का पर्ने कुरा, आमालाई दुखाउने कुरा सम्झेर काम गरौं मैले भनिरहेको छु । मेरो त्यो ठाउँमा राष्ट्रियता मजबुत बनाउने भूमिकामै रहनेछु । साभार चक्रपथ

सम्बन्धित खबरहरु