काठमाडौ । महिनादेखि विद्युत् अवरुद्ध हुँदा जुम्ला सदरमुकाम खलंगा अन्धकारमय भएको छ । मेसिन जडानका क्रममा बेरिङ भाँचिएपछि जुम्ला सदरमुकाम अन्धकारमय भएको हो । नियमित विद्युत् आपूर्ति गर्न माग गर्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् ।

विभिन्न चरणका आन्दोलन भइरहँदा तत्कालिन समस्या समाधानका लागि प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतको पहलमा खलंगामा डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी अन्तिम चरणमा पुगेको छ । साना जलविद्युत् उपभोक्ता समितिले डिजेल प्लान्ट मेसिन भित्र्याएको छ ।

साना जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि भारतीय दूतावासको सहयोगमा नयाँ मेसिन ल्याइएको थियो  । तर, जडानका क्रममा मेसिनको बेरिङ भाँचिएको उपभोक्ता मितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । मेसिन खरिदका लागि भारतीय दूतावासले २ करोड ६३ लाख ७७ हजार रूपैयाँ सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले ४५ लाख २२ हजार ९ सय रूपैयाँ थपेको थियो । नयाँ मेसिन जडानका लागि ३ करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

अहिले निर्माण कम्पनीले १ करोड ८६ लाख ८५ हजार ३ सय ४० रूपैयाँ भुक्तानी लिइसकेको छ । तर, मेसिन जडान नहुँदा नौ महिनादेखि जुम्ला सदरमुकाम बिजुलीविहीन छ । तत्काल मेसिन जडान गरेर बिजुली बल्ने नदेखिएपछि डिजेल प्लान्ट खरिद गरिएको अध्यक्ष बुढ्थापाले बताए । अहिले सांसद विकास कोषको रकम खर्च गरिएको छ । प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट २४ लाख ६० हजार उपलब्ध गराएको अध्यक्ष शाहीले बताए ।

नेपालगन्जबाट चार दिन लगाएर २ सय केभी १६० किलोवाट क्षमताको मेसिन जुम्ला ल्याइसकेको समितिले जनाएको छ । अब केही दिनमै बिजुली उत्पादन हुने भएको छ । चाडपर्वको वेला सर्वसाधारणलाई सजिलो होस् भनेर डिजेल प्लान्ट ल्याइएको सांसद महतले बताए । उत्पादन महँगो हुने भए पनि सहुलियत दरमा उपलब्ध गराइने उनको भनाइ छ ।

नौ महिनादेखि बत्ती नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजसमेत प्रभावित भएको छ । यसबाट २२ हजार उपभोक्ता मर्कामा परेका छन् । लोडसेडिङविरुद्ध झरो जुलुस पटक–पटक विद्युत् आपूर्तिको माग गर्दा पनि सम्बोधन नभएपछि जुम्ली युवा आन्दोलनमा उत्रिएका छन् । स्थानीय युवाले हातमा झरो सल्काई सदरमुकाममा राँके जुलुस नै निकालेका छन् ।

तीन वर्षदेखि दैनिक १८ घण्टासम्मको लोडसेडिङ हुँदै आएको खलंगामा एक महिनादेखि पूर्ण रूपमा विद्युत् बन्द छ । ठेकेदार उपभोक्ता समितिको लापरवाहीका कारण २२ जना उपभोक्ताले झरोको सहायतमा दिन गुर्जान बाध्य भएको भन्दै झरो जुलुस निकालेका हुन् ।

पावर हाउस निर्माणका लागि आएको भारतीय ठेकेदार भागेपछि खलंगा अँध्यारोमा छ । विद्युत आपूर्तिका लागि प्रशासन गम्भीर नभएको भन्दै युवाहरूले झरो बाल्दै जुलुस निकालेका हुन् ।

सम्बन्धित खबरहरु