रितिक अधिकारि
सर्लाही ,साउन । केही दिनअघि परेको पानी तथा गर्मीले सर्लाहीको सदरमुकाम मलंगवामा लामखुट्टे आ'तंक बढेको छ । बजार क्षेत्रका सडक, चोक र खुला ठाउँमा फोहोर थुप्रिएकोले पनि लामखुट्टेको आ'तंक बढेको छ जसले गर्दा घरभित्रै बस्न पनि समस्या भएको मलंगवाबासीहरुको गुनासो छ । ‘झ्यालढोका बन्द गर्न बिर्सिए वा ढिला गरेका वेला घरभित्रै पसेका लामखुट्टेले टोकेर हैरान पार्न थालेको छ,’ मलंगवा नगरपालिका वडा न-८ का उदय रायले विष्फोटसँग भने, ‘साँझको समयमा घरबाहिर निस्कनु भनेको त लामखुट्टेको आ'तंकको सामना गर्नुजस्तै भइसकेको छ ।’ बिहान पनि लामखुट्टेको टोकाइ बढेको गुनासो नगरवासीले गर्न थालेका छन् ।


गएको केही हप्ता अगाडी नगरपालिकाले लामखुट्टे मार्न ग्यास मेसिनले औषधि छर्केको भएपनि अहिले उक्त मेसिन कार्यालयमा त्यसै थन्काएर राखिएको छ ।एकदुई दिन मेसिनले औषधि मिसाइएको ग्यास छर्किएको भएपनि लामखुट्टेले भने टोक्न बन्द नगरेकको स्थानीयबासीहरुले अनुभव सुनाए ।नगरपालिकाका १२ वटै वडाबाट लामखुट्टेको प्रकोप बढेको गुनासो आएको नगरपालिकाले जनाएको छ ।

लामखुट्टेले विभिन्न रोग सार्ने भएकाले सजगता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । वडा न-२ का वडा स्वास्थ संयोजक संजय यादवका अनुसार ‘डेंगु सार्ने ‘एडिस एजेप्टाई’ नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्युपा हुर्काउँछ । हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरियालगायत घातक रोग लामखुट्टेबाटै सर्ने हुनाले लामखुट्टेबाट सधैँ सावधानी अपनाउनुपर्छ ।’ आफ्नो वासस्थानआसपास सरसफाइ गर्ने, पानीको उपयुक्त निकास व्यवस्थापन गरी पानी जम्न नदिने गरे रोगबाट जोगिन सकिने यादवले बताए ।

सम्बन्धित खबरहरु