भद्रपुर । जनप्रतिनिधिहरु सेवा सुविधा भोगी भएको भन्दै जताततै विरोध भइरहेको छ। संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु सरकारी सुविधा लिन मरिहत्तै गरेको भन्दै नागरिकहरुले विरोध गरिरहेका छन्।

तर, कचनकवल गाउँपालिकाका एक वडाध्यक्षले भने सुविधाका लागि गाउँपालिकाले दिएको सवारीसाधन नलिने घोषणा गरेका छन्। वडा नम्बर ६ अध्यक्ष कुलबहादुर कार्कीले गाउँपालिकाले दिने मोटरसाइकल नलिने घोषणा गरेका हुन्। गाउँपालिकाको अध्यक्षलाई स्कार्पियो गाडी, उपाध्यक्षलाई स्कुटर, ६ वटै वडाध्यक्ष र कर्मचारीहरुका लागि मोटरसाइकल खरिद गरेको छ।

त्यो सुविधाको मोटरसाइकल नलिने वडाध्यक्ष कार्कीले घोषणा गरेका हुन्। उनीबाहेक सबै जनप्रतिनिधिले सुविधाको मोटर र मोटरसाइकल प्रयोग गरेका छन्। वडाध्यक्ष कार्कीले वडाका नागरिकलाई समृद्ध नबनाई सरकारी रकमबाट खरिद गरेको सवारीसाधन प्रयोग नगर्ने बताएका छन्।

उनले कार्यालयको कामकाजका लागि निजी मोटरसाइकल प्रयोग गर्दै आएका छन्। गाउँपालिकाले दुई वर्षको अवधिमा करिब एक करोड रुपैयाँ सवारीसाधन खरिद गरेको वडाध्यक्ष कार्कीले बताए।

‘गत आर्थिक वर्षमा वडाध्यक्ष र कर्मचारीका लागि गाउँपालिकाको परिषद् बैठकले करिब ३५ लाख रुपैयाँ बराबरको सवारीसाधन खरिदका लागि बजेट छुट्टाएको थियो,’ उनले भने, ‘गाउँपालिकाले त्योभन्दा बढी बजेट खर्चिएर सवारीसाधन खरिद गरेको छ, खरिद गरिएका सवारीसाधन सबै वडाध्यक्ष र कर्मचारीले लिए।’

गाउँपालिकाको आम्दानी वार्षिक ३० देखि ३५ लाख रुपैयाँ रहेको कार्कीले बताए। यस्तो अवस्थामा सवारीसाधन खरिदका लागि त्यत्रो रकम खर्चिनु राम्रो नभएको उनको भनाइ छ।

सम्बन्धित खबरहरु