काठमाडौं । सिन्धुपाल्चोकमा एक अनौठो दृश्य देखिन आएको छ । यहाँको एक पोखरीमा म‌ंगलबार १६ वटा बाँदर डुबेर मरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा घटना भएको हो ।

बाँदरको हुल सदाभन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेको देखेको स्थानीयले बताए । सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर स्थानीयहरु पोखरीमा हेर्न पुगेँ ।

जम्मा भएका गाउँलेले पोखरीमा हाम फाल्न ठिक्क परेका बाँदरको हुल धपाए । डुबेर छटपटाइरहेकालाई बाहिर निकाले । स्थानीय कुलप्रसाद दाहालले भने, ‘यो के अनर्थ हुन लागेको भनेर सुरुमा त हामी अचम्ममा पर्यौ । ९ वटालाई बचाउन सकियो ।

१६ वटा मरेछन् । अरुलाई धपाउन पनि गाह्रै भयो ।’ घटनाले गाउँलेलाई अचम्मित पार्नुका साथै दुःखी बनाएको उनले बताए । गाउँलेले तत्कालै प्रहरीलाई घटनाको जानकारी गराएको उनले बताए । एउटा बाँदर आएर पहिलेदेखि नै पोखरी छेउ उभिएर घोरिएर हेर्ने गरेको देख्दैआएको केहीले बताएका छन् ।

त्यसैले हाम फालेपछि अरुले पनि हाम फालेको हुनसक्ने गाउँलेको भनाइ छ । आफ्नै छाँया देखेर डुबेको बाँदर बचाउने भन्दै बाँदर हाम फालेको या अग्रज बाँदरको अभिनय गरेको हुनसक्ने अनुमान छ । सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा सयभन्दा बढि समुहमा राता बाँदर छन् ।

सम्बन्धित खबरहरु