काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता कार्यान्वयनको विषयलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । राज्य संयन्त्रका प्रमुख जिम्मेवारीमा विगतको केन्द्रीकृत मानसिकता भएका व्यक्तिहरूको हालिमुहाली भएकाले संघीयता कार्यान्वयनमा सन्तोषजनक अवस्था देख्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो । पछिल्लो समय जनतामा संघीयताप्रति असन्तुष्टि बढाउने गरी प्रशासनिक तहबाट काम भइरहेको पनि उहाँले आशंका व्यक्त गर्नुभयो ।

चौथो सामुदायिक वन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले गाउँगाउँमा सिंहदरबारको अधिकार जाओस् र जनताले सुख र समृद्धिको अनुभूति गरून् भन्ने अपेक्षा राखेर गणतन्त्र र संघीयताका लागि लडाई लडेको जानकारी दिनुभयो । उहाँले त्यसअनुसार काम हुन नसकेकोमा चिन्ता र आक्रोश व्यक्त गर्नुभयो । संघीयताका कार्यान्वयनबारे प्रचण्डले भन्नुभयो, ‘हामीले सोचेको एउटा चिज थियो भइराखेको अर्कै छ । हामीले रोपेको एउटा चिज थियो उम्रिन अर्कै खोजिराख्या छ । रोपेको जस्तो चिज उम्रिन खोजिराखेको छैन ।’ यस्तो हुनुका पछाडि संघीयता कार्यान्वयन गर्ने निकायमा समस्या रहेको उहाँले स्पष्ट पार्नुभयो ।

कसको कारणले संघीय प्रणालीको कार्यान्वयनमा समस्या आइरहेको छ भन्ने स्पष्ट नगरे पनि पुरानो राज्य संयन्त्रबाट प्रशिक्षितहरू अहिले पनि कर्मचारीतन्त्रमा भएको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘राजा महाराजाको व्यक्ति केन्द्रित स्कुलबाट प्रशिक्षित भएकाहरू केन्द्रीकृत सत्ता बलियो हुँदै जाओस् भन्ने चाहन्छन् ।’ संघीयता बलियो होस् भन्ने स्कुल भएको उल्लेख गर्दै उहाँले सिंहदरबारको अधिकार गाउँगाउँमा जाओस् समुदायका व्यक्तिले बलियो भएको अनुभव गर्दै जाऊन् भन्ने सोच भएका व्यक्तिहरुको पनि कमि नभएको उहाँले जिकिर गर्नुभयो ।

सम्बन्धित खबरहरु