सर्लाही । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अझै अराजक अभिव्यक्ति दिन छाडेका छैनन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका चर्चित मन्त्रीमा पर्दछन् । उनले हिँजो सर्लाही पुगेर आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख एसपीलाई चेतावनी दिएका छन्।

शनिबार सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित गडहियाडुमरियामा आयोजित उखु किसानसँग अन्तरक्रियामा बोल्दै मन्त्री यादवले निकट भविष्यमा उखु किसानले चिनी उद्योगीबाट भुक्तानी नपाए आफू समेत किसानको नेतृत्व गरेर सडकमा उत्रने भएकाले त्यस्तो अवस्थामा पक्राउ वा अन्य कारबाही गर्नका लागि तयार रहन सिडिओ मोहनबहादुर जिसी र एसपी गोपालचन्द्र भट्टराईलाई व्यंग्यात्मक शैलीमा चेतावनी दिएको खबर नागरिक दैनिकमा छ ।

‘वर्षौंदेखि उखुको पैसा नपाएर पीडित बनिरहेका किसानलाई निकट भविष्यमै चिनी उद्योगीले भुक्तानी नगरे म किसानसँगै सडकमा आउने छु’, मन्त्री यादवले छेउमै रहेका प्रजिअ र एसपीप्रति ईंगित गर्दै भने, ‘त्यस्तो अवस्थामा कानून विपरित भए किसान भन्दा पनि मलाई कारबाही गर्न तयार रहनुस्।’ मन्त्री यादवले कार्यक्रममा उपस्थित उखु किसानलाई ढाडस् दिँदै निकट भविष्यमै चिनी उद्योगीबाट उखुको पैसा भुक्तानी हुने आश्वासन दिए।

‘तपाईंहरुको वर्षौंदेखिको उखुको पैसा निकट भविष्यमै आउनु पर्छ’, मन्त्री यादवले भने, ‘यदि उद्योगीले पैसा दिएनन् भने, म तपाईंहरुको संघर्षको नेतृत्व गर्न पुनः यही भूमीमा आउने वाचा गर्दछु।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु