काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली युवा पुस्तामा राजनीति आर्कषणको केन्द्र भएको छ । यो बीचमा गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आज पार्टीले केन्द्रीय समितिको बैठकबाट सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो । उनी ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्दै आइरहेकी छिन् । सिग्देल सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् ।

उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् भने ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र बंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिइसकेको अनुभव उनमा छ । सिग्देल भन्छिन्, ‘मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फेशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रमको प्रस्तोता नै हुने होला भन्ने हुँदोरहेछ । तर मलाई चाहिँ भित्रैदेखि राजनीतिमा लागेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ ।’ उनले अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य भएको धारणा व्यक्त गरिन् ।

सम्बन्धित खबरहरु