काठमाडौं । सामान्यतया मानिसले मानिसका विरुद्ध उजुरी गरेको हामीले देखेका छौं । तर कहिलेकाँही हामीले केही फरक घटनाहरु बाहिर आउँछन जुन विश्वास गर्न गाह्रो हुन्छ । यस्तै, दोलखाको विगु गाउँपालिका–३, बुलुङका रामशरण खड्काले बाँदर विरुद्ध उजुरी दिएका छन् । साउन दोस्रो हप्ता हातमा बोकेको दुई पाना लामो उजुरी करिब चार घण्टा हिँडेर विगु गाउँपालिका–४, सिंगटीस्थित गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको कार्यालयमा दर्ता गराएका हुन् ।

बाँदरपीडित खड्काले आफू र अन्नपातको सुरक्षाको माग गर्दै दिएको निवेदन बुझेको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो । तर, बाँदर, मृग, दुम्सीलगायतले गरेको क्षतिको राहत उपलब्ध गराउन र सुरक्षा दिने कानुन नभएकाले चाहेर पनि सहयोग गर्न नसक्ने भन्दै फिर्ता गरिदिएको पनी जानकारी दिनुभयो । आयोजना प्रमुख शाहले दोलखालगायत देशकै विभिन्न ठाउँहरुमा बाँदरले किसानलाई दुःख दिने समस्या विकराल बन्दै गएकाले सरकार गम्भीर भएको जानकारी दिनुभयो ।

तत्काललाई भने संरक्षण क्षेत्रले बाँदरलगायत विभिन्न वन्यजन्तुले खाद्यन्न नोक्सान गरेको आधारमा केही क्षतिपूर्ति दिँदै आएको छ । वन्यजन्तु नियन्त्रण गर्ने सम्बन्धमा बनेको कानुनले समेत किसानलाई बेवास्ता गरेको पाइएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ समेतले बाँदर, मृग, दुम्सीले गरेको क्षतिको राहत सहयोग उपलब्ध गराउने सम्बन्धमा कुनै पनि व्यवस्था गर्न सकेको छैन ।

सम्बन्धित खबरहरु