काठमाडौं । आज काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक विदा दिएको छ । आज उपत्यकामा गाइजात्रा पर्व धुमधामका साथ मनाइदैछ । आज गत वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्ने दिन हो ।

सडकमा गाई, गाईकै भेष अथवा बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् । गाईजात्रामा पछिल्लो समय बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ ।

मृत्यु भएका आफन्तको सम्झनामा गरिने जात्रामा आत्मसाथ गरिएको रमाइलो र हाँसोका माध्यमहरुलाई बिचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवस्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाको रुपमा लिएर अघि बढ्नका लागि मृतकका शोक सन्तप्त परिवारजनलाई आह्वान गरेको जस्तो देखिन आउँछ ।

गाईजात्रा गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पानाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार आजको दिन काठमाडौ उपत्यका बासिहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पनी पूजा गर्ने गर्दछन् ।

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् । धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरिन् । मृत्यू भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलाई राजाले धेरैपटक दबुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौं दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो ।

आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् ।

राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा भुलेर फोहोरा छोडेर हाँसेको बताइन्छ ।

सम्बन्धित खबरहरु