काठमाडौं । संघीयतापछि गाउँमा बनेका स्थानीय र प्रदेश सरकारले आ–आफ्नो निर्णय गर्दै हिड्न थालेका छन् । विभिन्न सामाजिक व्यवहारमा विकृति आइरहेको अबस्थामा मकवानपुरगढी गाउँपालिकाले सामाजिक व्यबहार ऐन, २०७५ गाउँसभाबाट पास गरी लागू गर्ने तयारी गरेको छ ।

गाउँपालिकाद्धारा जारी भएको ऐनमा विवाह गर्दा दाइजो लिनदिन नहुने, विवाहमा सहभागी हुँदा केटी वा केटा पक्षबाट आमन्त्रण गरिएका छरछिमेकी र इष्टमित्रले एक हजार भन्दा बढीको जिन्सी उपहार वा नगद लिनदिन नहुने लगायत उल्लेख गरिएको छ ।

जन्ती जाँदा बाजागाजासहित ५१ जना भन्दा बढी लैजान नहुने, केटा वा केटी पक्षले विवाह भोजमा नजिकका नातेदारबाहेक छरछिमेक र इष्टमित्रमध्ये ५१ जना भन्दा बढीलाई आमन्त्रण गर्न नपाउने भनिएको छ ।

न्वारन, जन्मदिवस, पास्नी, चुडाकर्म र पितृकार्य गर्दा कार्यसँग सम्बन्धित नजिकका नातेदारबाहेक छरछिमेक, इष्टमित्रमध्ये २५ जना भन्दा बढीलाई आमन्त्रण गर्न नहुने र त्यस्ता कार्यमा सहभागी तथा आमन्त्रितले एक हजार भन्दा बढी नगद वा सोभन्दा बढीको जिन्सी सरसामान उपहार दिनलिन नमिल्ने भनिएको छ ।

ऐनमा देउसीभैलो जस्ता परम्परागत् चाडपर्व मनाउने क्रममा कसैलाई करकाप हुने गरी रकम माग गर्न नपाइने र गाईतिहार र भाइटीकाको दिनमात्र खेल्न पाइने कुरा उल्लेख गरिएको छ । चौथो गाउँसभाबाट पारित गरी गाउँपालिकाभित्र लागु हुने गरी ऐन तयार पारेर कार्यान्वयन तर्फ लागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले जानकारी दिनुभयो ।

उहाँले मदिराजन्य पदार्थ उत्पादक महिलालाई सिपमूलक तालिम दिएर उत्पादन घटाउँदै लैजाने तयारी गाउँपालिकाले गरेको स्पष्ट पार्नुभयो । जुवातास तथा सामाजिक विकृतिमा सुधार ल्याउने, रोजगारीको माध्यमबाट आत्मनिर्भर मकवानपुरगढी निर्माण, समाजमा रहेका सबैखाले असमानता र विभेद अन्त्य गरी सबै क्षेत्रमा सामाजिक सुशासन कायम गर्ने जस्ता काममा सहज हुने गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको विश्वास रहेको छ ।

भदौबाट ऐन सबै वडामा लागु हुने अध्यक्ष हुमागाईंले दावी छ । गाउँपालिकामा असमान ज्याला रहेकोले खेतीपाती वा अन्य कामका लागि महिला र पुरुषलाई ज्याला समान दिनुपर्ने पनी भनिएको छ ।

सम्बन्धित खबरहरु