काठमाडौ । केही दिन देखि चितवन तनावग्रस्त भएको छ । पत्रकार शालिकराम पुडासैनीको जीवनत्याग प्रकरणमा रवि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्न प्रहरी प्रशासनलाई समस्या हुन थालेको छ ।

यो बीचमा चितवनका प्रमुख राजनीतिक दलले भिडलाई नियन्त्रणमा लिने कुरामा साझा सहमति गरेका छन् । पुडासैनी प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत जिल्लाका प्रमुख दलका नेताहरुले आम जनसमुदायलाई अनुरोध गरेका छन् ।

साउन २० गते भरतपुरको कंगारु होटलमा मृत फेला परेका पत्रकार शालिराम पुडासैनीको जीवनत्याग प्रकरणमा प्रहरीले साउन ३० गते न्युज २४ को सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

लामिछाने पक्राउ परेपछि उनका समर्थकहरुले रिहाइको माग गर्दै साउन ३१ देखि भरतपुरमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा तोडफोडका घटनासमेत हुन थालेको भन्दै आइतबार चितवनमा सर्वपक्षीय बैठक बोलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दैनिक जीवन र न्याय सम्पादनमा असर पुग्ने काम कहीँकतैबाट हुन नदिनेतर्फ सबै सचेत हुनुपर्ने बताएको छ । यो बीचमा अहिले काठमाडौंबाट रविका सर्मथक चितवन जान थालेका छन । यसलाई मध्यनजर गर्दै थप प्रहरी पनि परिचालन गरिएको छ ।

सम्बन्धित खबरहरु