काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरण सेलाउन नपाउँदै पूर्वयुवराज पारस शाहले विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भइरहेको छ । महानगरीय प्रहरी परिसरका अनुसार शाहले आइतबार दिउँसो विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेर दुर्व्यवहार गरेपछि बबाल भएको हो ।
थाई एयरको जहाजबाट थाइल्यान्ड हिँडेकी आमा कोमललाई विदा गर्न विमानस्थल पुगेका पारसले छोरा हृदयेन्द्र र भान्जालाई प्रहरीले बाटो रोकेको भन्दै प्रहरीलाई धकेलेका थिए । पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो दिउँसो १ बजेतिरको घटना थियो जहाँ शाह सरासर आएर सई खत्रीलाई धकेलेका थिए ।
यता जसलाई धकलेको भनिएको थियो उहाँले यो घटना सामानय भएको जनाउनु भएको छ । खत्रीलाई उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘उहाँ विदाइको लागि आउनुभएको रहेछ, भीडभाड बढी थियो, त्यहीबेला मलाई धकेल्नुभयो । भीडभाडका कारण किन धकेल्नुभयो भन्ने सोधीखोजी गर्ने अवस्था थिएन ।’ महानगरीय प्रहरी परिसरका अनुसार त्यस्तो घटनाको रिपोर्ट आएको छैन ।