काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका सेनाप्रमुख जनरल कमर जावेद बाज्वाको कार्यकाल तीन वर्ष थपिदिएका छन् ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिका अनुसार जनरल बाज्वाको कार्यकाल बढाउने निर्णय सुरक्षास्थितिलाई ध्यानमा राखेर लिइएको हो ।

सेनाप्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि चलिरहेको थियो । भारतले भारत–प्रशासित कश्मीरको संविधानप्रदत्त विशेषाधिकार खोसेपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ ।

यही बेला पाकिस्तानी सेनाप्रमुखको कार्यकाल बढाइएको हो । बाज्वाले नोभेम्बर २०१६ मा सेनाको नेतृत्व सम्हालेको बीबीसीले जनाएको छ ।

उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले सेनाप्रमुखमा नियुक्त गरेका थिए । पुरानो नियुक्तिअनुसार जनरल बाज्वा यही नोभेम्बरमा सेवानिवृत्त हुँदै थिए ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको सङ्क्षिप्त सूचनाअनुसार जनरल कमर जावेद बाज्वालाई तीन वर्षका लागि अतिरिक्त कार्यकालका लागि सेनापतिमा नियुक्त गरिएको हो ।

पत्रमा भनिएको छ, ‘यो कार्यकाल उनको वर्तमान कार्यकाल पूरा हुने दिनदेखि सुरु हुनेछ ।’ उक्त सूचना प्रधानमन्त्री इमरान खानको हस्ताक्षरसहित जारी गरिएको थियो ।

देशका मामिलामा सेनाको प्रभावका कारण सेनाप्रमुखको नियुक्ति वा उसको कार्यकाल प्रधानमन्त्रीको एउटा महत्त्वपूर्ण निर्णयका रूपमा हेरिन्छ ।

यसले सरकार–सेना सम्बन्धलाई समेत परिभाषित गर्छ । विज्ञहरूका भनाइमा यसको प्रत्यक्ष असर देशको सरकार र उसको निर्णय लिने क्षमतामा पर्नेछ । विश्लेषकहरूका भनाइमा जनरल बाज्वा र इमरान खानबीच विशेष सम्बन्ध छ ।

निकै लामो समयपछि यस्तो समय आएको छ जब पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले एकै दिशामा देशको भविष्यबारे सोचिरहेका छन् ।

तर सोही देशका विपक्षी नेताहरूले भने इमरान खानले सेनाको सहयोगमा सत्ता हासिल गरेको आरोप लगाएका छन् जसलाई खानको पार्टी पीटीआईले खण्डन गर्दै आएको छ ।

सम्बन्धित खबरहरु